काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीभित्र जारी आन्तरिक विवादका बीच अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कार्यबाहक नेतृत्व वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई सुम्पिएको घोषणा गरेकी छन्।
श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्थाका कारण पार्टीको दैनिक कार्य सञ्चालन तथा महत्वपूर्ण निर्णय प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन नसक्ने भएकाले कार्यबाहक अध्यक्ष तोकिएको स्पष्ट पारेकी छन्।
‘स्वास्थ्य समस्या भएकाले तत्काल सक्रिय भूमिका निर्वाह गर्न कठिन छ,’ श्रेष्ठले कार्यबाहक तोकिएको पत्रमा उल्लेख गरेकी छन्, ‘पार्टीको नियमित कार्यसम्पादनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले वरिष्ठ उपाध्यक्ष बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।’
शुक्रबार मात्र नागरिक उन्मुक्ति पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले २४ घण्टाभित्र केन्द्रीय समिति बैठक बोलाउन अध्यक्ष श्रेष्ठलाई अल्टिमेटम दिएका थिए। त्यसको केही समयपछि श्रेष्ठले कार्यबाहकको जिम्मेवारी सुम्पिएको निर्णय सार्वजनिक गरेकी हुन्।
शिव बास्तोला पोखरा महानगरपालिका–६ निवासी पार्टीका वरिष्ठ नेता तथा उपाध्यक्ष हुन्। पार्टीभित्रको शक्ति संघर्ष चुलिँदै गइरहेको बेलामा अध्यक्ष श्रेष्ठको यो निर्णयलाई राजनीतिक समीकरणको दृष्टिकोणबाट पनि विश्लेषण गरिएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया