काठमाडाैं । उत्तरपश्चिम टर्कीमा फैलिएको डढेलो आइतबार बिहानसम्म देशको चौथो ठूलो सहर बुर्सासम्म फैलिएको छ। आगलागीका कारण सयौं स्थानीय बासिन्दा घरबार छाड्न बाध्य भएका छन्।
बुर्साका वरपरका जंगली पहाडहरूमा लागेको डढेलो शनिबार रातभर फैलिँदै सहरका पूर्वी उपनगरहरू नजिक पुगेको थियो। आगोको लप्का र धुवाँले आकाश राताम्मे बनेको स्थानीयले जनाएका छन्।
बुर्साका गभर्नर कार्यालयका अनुसार डढेलोबाट प्रभावित क्षेत्रमा रहेकालाई उद्धार गरी एक हजार सात सय पैंसठी जनालाई सुरक्षित स्थानमा सारिएको छ।
बढ्दो आगलागी रोक्न एक हजार एक सयभन्दा बढी दमकलकर्मी परिचालन गरिएको छ। बुर्सालाई राजधानी अंकारासँग जोड्ने प्रमुख राजमार्ग आगोको जोखिमका कारण अस्थायी रूपमा बन्द गरिएको छ।
प्रान्तका विपक्षी सांसद ओर्हान सारिबालले सामाजिक सञ्जालमा लेख्दै यस डढेलोलाई ‘प्राकृतिक प्रलय’ भनेका छन्। उनका अनुसार जंगल, खेत र बस्तीहरू खरानीमा परिणत भइरहेका छन्।
आइतबार बिहान हावाको गति केही कम भएपछि आगो नियन्त्रणमा लिन उद्धारकर्मीलाई सहज भएको छ। तर टेलिभिजन दृश्यहरूमा पहेँलो खरानी र जलेको भुइँ मात्रै देखिन्छ — जहाँ पहिले हरियाली थियो।
टर्कीमा जुन महिनाको अन्त्यदेखि दैनिक रूपमा ठूलो संख्यामा डढेलो लागिरहेको छ। वन मन्त्री इब्राहिम यमुक्लीका अनुसार शनिबारमात्रै देशभर ७६ वटा छुट्टाछुट्टै डढेलोको सामना गरिएको थियो।
डढेलोको मुख्य कारण बेमौसमी उच्च तापक्रम, सुख्खा वातावरण र तीव्र हावालाई मानिएको छ।
टर्कीको दक्षिणपूर्वी सिरनाक प्रान्तमा शुक्रबार इतिहासकै उच्च तापक्रम ५०.०५ डिग्री सेल्सियस मापन गरिएको थियो। जुलाई महिनामा मात्रै १३२ स्थानमा तापक्रम असामान्य रूपमा बढेको वन मन्त्रालयले जनाएको छ।
डढेलोको गम्भीरता हेर्दै सरकारले इजमिर र बिलेसिक प्रान्तलाई आधिकारिक रूपमा विपद्ग्रस्त क्षेत्र घोषणा गरेको छ।
पछिल्लो समयमा डढेलोमा परी उद्धारकर्मी र वन कर्मचारीसहित १३ जनाको मृत्यु भएको छ। न्यायमन्त्री यिलमाज टुन्कका अनुसार, जुन २६ यता ३३ प्रान्तमा डढेलोसम्बन्धी अनुसन्धान हुँदै आएको छ र ९७ जनाविरुद्ध कानुनी प्रक्रिया सुरु गरिएको छ।
उत्तरी-पश्चिमी टर्की अझै पनि उच्च जोखिममा रहेको वन मन्त्री यमुक्लीले बताए। उनले काराबुक प्रान्तमा मंगलबारदेखि लागिरहेको डढेलो अझै नियन्त्रणमा नआएको उल्लेख गरे।
सरकार र उद्धार निकायलाई थप चुनौती दिँदै, मौसम पूर्वानुमान विभागले आगामी दिनहरूमा पनि उच्च तापक्रम र सुख्खा हावा कायम रहने चेतावनी दिएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया