काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक सडकमा माटो खसालेर धुलो फैलाएको आरोपमा एक स्थानीय व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
काठमाडौं महानगरपालिका–१४ अन्तर्गत बल्खु चोकमा जेसीबी प्रयोग गरी काम गर्ने क्रममा सडकमा माटो खसालिएको थियो। सोही आधारमा स्थानीय बासिन्दा हरिलाल श्रेष्ठमाथि जरिवाना लगाइएको मेयर बालेन्द्र शाह (बालेन) को सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार श्रेष्ठले निजी प्रयोजनका लागि सडक प्रयोग गर्दै माटो खसालेर वातावरण प्रदूषण गरेका थिए। “सार्वजनिक स्थलमा अव्यवस्थित रुपमा माटो खसाल्नुले धुलो तथा फोहोर फैलाउँछ, त्यसैले उनीमाथि जरिवाना गरिएको हो,” सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
महानगरपालिकाले सार्वजनिक ठाउँमा फोहोर गर्ने, धुलो फैलाउने वा अव्यवस्थित निर्माण कार्य गर्नेविरुद्ध कडाइका साथ निगरानी बढाउने चेतावनीसमेत दिएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया