काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
अध्यक्ष दाहालको लाजिम्पाटस्थित निवासमा शनिबार बिहान भएको उक्त भेटमा पछिल्लो समय देशभित्र र बाहिर विकसित राजनीतिक परिस्थितिका विषयमा गम्भीर छलफल गरिएको एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए।
भेटमा विशेषतः वामपन्थी दलहरूबीचको धु्रवीकरण, सम्भावित वाम एकता, कम्युनिष्ट शक्तिबीचको सहकार्य र एकताबद्ध प्रयास, राष्ट्रिय राजनीतिमा देखा परेका उतारचढाव तथा अन्तर्राष्ट्रिय शक्तिराष्ट्रहरूबीचको द्वन्द्व र त्यसले नेपालमा पार्न सक्ने प्रभावबारे विश्लेषण गरिएको थियो।
दुबै नेताबीच भएको संवादमा वर्तमान सरकारको कार्यशैली, नीति कार्यान्वयनको गति र सार्वजनिक अपेक्षाका बारेमा समेत आलोचनात्मक समीक्षा भएको बताइएको छ।
रायमाझीका अनुसार भेटमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच भविष्यमा कसरी सहकार्य र सम्भावित एकता अघि बढाउन सकिन्छ भन्ने विषयमा पनि कुराकानी गरिएको थियो। यस क्रममा सैद्धान्तिक आधार, संगठनात्मक प्रक्रियाहरू र सम्भावित मोडलबारे विचार विमर्श भएको छ।
भेटवार्ता ‘शुभ संकेत’को रूपमा लिइँदैछ, जसले नेपाली वाम राजनीतिमा पुनः नयाँ मोड ल्याउने संकेत दिन थालेको छ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार













प्रतिक्रिया