काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पार्टीका केन्द्रीय विभाग र जनवर्गीय संगठनका प्रमुखहरूलाई जनताको घरदैलोमा पुगेर पार्टीको मुद्दा, नीति र सिद्धान्त प्रष्ट पार्न निर्देशन दिएका छन्।
आइतबार पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बसेको संयुक्त बैठकमा सम्बोधन गर्दै अध्यक्ष यादवले चुनावी तयारीलाई तीव्र पार्दै आम जनसमुदायमा पार्टीका एजेन्डा र दृष्टिकोण प्रभावकारी रूपमा पुर्याउनुपर्नेमा जोड दिए।
“जसपा नेपालले बलियो ढंगले उठाउँदै आएका मुद्दाहरू अझै जनतामा प्रभावकारी रूपमा पुग्न सकेका छैनन्,” अध्यक्ष यादवले भने, “अब न त विश्राम गर्ने समय छ, न छूट — सबै शक्ति आगामी चुनावको तयारीमा केन्द्रित गर्नुस्।”
उनले वर्तमान राजनीतिक अन्यौलतामा परिवर्तनको दिशामा अडिग भएर अघि बढ्नुपर्ने र संगठन सुदृढीकरण, नेतृत्व विकास, प्रशिक्षण तथा जनसम्पर्क विस्तारमा गहिरो ध्यान दिनुपर्ने बताए।
अध्यक्ष यादवले मधेश प्रदेशसहित देशभर पार्टीको सशक्त उपस्थिति आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनलाई दृष्टिगत गरी सबै तहका नेता–कार्यकर्तालाई तयारीमा जुट्न आह्वान गरे।
बैठकमा प्रशिक्षण कार्यक्रम सञ्चालन, जनवर्गीय संगठनहरूको भूमिका प्रभावकारी बनाउने, र जनसम्पर्कलाई अझ व्यापक बनाउने विषयमा पनि छलफल भएको बताइएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार











प्रतिक्रिया