काठमाडौं । अमलेखगन्जस्थित नेपाल आयल निगमको पाइपलाइन पूर्वाधारमा प्राविधिक समस्या देखिएको छ ।
औपचारिक उद्घाटन नहुँदै दोस्रो चरणअन्तर्गत बनेको पाइपलाइन पूर्वाधारमा प्राविधिक समस्या देखिएको निगमले जनाएको छ । निगमका अनुसार इन्धन भण्डारण हुने ट्यांकीबाट लोडिङ वेरटीएलएफ सेड बनेको ठाउँमा केही समस्या देखिएको हो ।
आजको कान्तिपुरमा प्रकाशीत समाचार अनुसार ट्यांकरमा इन्धन लोड गर्ने क्रममा भाइब्रेट हुने, अलाइनमेन्ट परिवर्तनदेखि पाइप नै बाङ्गिएको जस्तो देखिने गरेको निगमको भनाइ छ । लोडिङ बेको पाइप करिब १० सीएम अगाडि सरेको निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले बताए ।
‘डिजेल र पेट्रोल लोड गर्ने क्रममा पाइपलाइनमा बढी प्रेसर पर्छ । त्यही कारण डिपोभित्र लोडिङ बेमा केही मुभमेन्ट भएको छ । बढी प्रेसरकै कारण पाइप करिब १० सीएम अगाडि सरेको अनुमान छ,’ भट्टले भने, ‘लोडिङका क्रममा पम्प स्टार्ट गर्दा पाइप भाइब्रेट हुने समस्या देखिएको छ । भल्भले राम्रोसँग प्रेसर रिलिज गर्न सकेको देखिएन ।’
पाइपलाइनमा समस्या देखिएपछि करिब १० दिनअघि भारतीय आयल कर्पोरेसन ९आईओसी० लाई जानकारी गराएको उनले जनाए । तर आईओसीको प्राविधिक टोली जुलाई ३० मा आउने जानकारी आएको छ । प्राविधिक टोली आएपछि केही दिन मर्मत गर्न पाइपलाइन बन्द गरिने निगमले जनाएको छ । तर बजारमा अभाव हुन नदिने भट्टको भनाइ छ ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार












प्रतिक्रिया