काठमाडौं। सरकार सञ्चालनमा अत्यन्तै कमजोर भूमिका र विवादित आचरणका कारण बागमति प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा आफ्नै पार्टीबाट अपदस्थ हुनुपर्ने अवस्थामा पुगेका छन् ।

मुख्यमन्त्रीका रुपमा उनको एक वर्षे कार्यकाल बागमती प्रदेशको अहिलेसम्मकै कमजोर बनेको टिप्पणी उनकै सरकारमा सहभागी मन्त्रीहरुको छ । सरकार प्रभावकारी हुन नसकेको, कमजोर निर्णय क्षमता र अनुचित लाभमा फस्दै गएका मुख्यमन्त्री लामाका कारण प्रदेश सरकार नै बदनाम भएपछि कांग्रेसकै सांसदहरुले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । उनको सरकारमा सहभागी कांग्रेसकै चार मन्त्रीले पदबाटै राजीनामा दिइसकेका छन् ।

advertisement

“मुख्यमन्त्रीको कार्यक्षमतामाथि सुरुमै आशंका नभएको त होइन, तर पनि अनुभव गर्दै जाँदा सिकिँदै जान्छ भन्ने हाम्रो बुझाइ थियो,” मन्त्रीबाट राजीनामा दिएका मीनकृष्ण महर्जनले भने, “तर एक वर्षसम्म उहाँले काम गर्नै सक्नुभएन । न त काम गर्ने मन्त्रीहरुलाई सहयोग गर्नुभयो ।”

सरकारमा टाँसिएर बस्नुभन्दा बिकल्प खोज्नुपर्ने निष्कर्षमा आफूहरु पुगेको उनको भनाई छ । “मन्त्री बनिरहन त के समस्या थियो तर सरकारकै बेइज्जत हुन थाल्यो । उहाँमा काम गर्ने न त ढंग थियो न अनुभव देखियो, त्यसपछि उहाँको बिकल्प खोजेनौं भने प्रदेश सरकार नै दुर्घटनामा पर्ने अवस्था आयो,” महर्जनले भने ।

कांग्रेसका बागमती प्रदेश अध्यक्ष इन्द्र बानियाँलाई संसदीय दलको नेतामा पराजित गरेर मुख्यमन्त्री बनेका हुन् लामा । तर, विगतमा उनलाई साथ दिएका सांसदहरु नै मुख्यमन्त्रीविरुद्ध उभिएका छन् । जसले मुख्यमन्त्रीको कार्यक्षमतामाथि व्यापक प्रश्न उठेको हो ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा निकट मानिने लामालाई मुख्यमन्त्रीबाट हटाउन देउवा बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको छ। मुख्यमन्त्री लामा नेतृत्वको सरकारले हालै ल्याएको प्रदेश बजेटले त देशभर नै चर्चा पायो ।

“बागमती प्रदेशको बजेटमा गण्डकीका लागि बजेट छुट्याइयो, यो कतिसम्मको लाजमर्दाे अवस्था भयो होला,” कांग्रेसकै अर्का प्रदेशमन्त्रीले भने, “यो सबैको जिम्मेवारी मुख्यमन्त्रीले लिनुपर्दछ । उहाँले न त कर्मचारी प्रशासन चलाउन सक्नुभयो न कुनै कार्यकुशलता देखियो । उहाँलाई जति पदमा राख्यो,त्यति समस्या देखिने भयो । अनि हटाउने निष्कर्षमा पुगेका हौं ।”

मुख्यमन्त्री लामाले बागमति प्रदेशमा एकाध गाडीको मोनोपोली कायम राख्न उनीहरुबाट अनुचित लाभ लिएको गम्भीर आरोप समेत लागेको छ । उनले अरुलाई प्रतिस्पर्धामा आउनै नदिन केहि सिमित व्यवसायीबाट ठूलो रकम असुली गरेको आरोप लागेको हो ।

बिशेषगरी लामाले टाटा कम्पनी सँग निकै मोटो रकम लिएर टाटा ट्याक्सीलाई इजाजत दिएको र इभी व्यवसायी राजु श्रेष्ठ सँग समेत करोडौं पैसा लिएर इभी इजी गाडीलाई इजाजत दिदै ट्याक्सीमा सिन्डिकेट लगाइरहेका आरोप लाग्दै आएको छ । त्यती मात्र नभई लामाले प्रदेश कार्यालयमा आफ्नो मान्छे राखी हरेक नीतिगत सूचना टाटा कम्पनी तथा राजु श्रेष्ठ सम्म चुहावट गर्दै आएको आरोप छ ।

लामाका यस्ता गतिविधिहरु क्रमशः बाहिरिन थालेपछि उनको चर्को विरोध हुदै आएको छ भने उनको मुख्य मन्त्री पद नै धरापमा पर्ने अवस्था आएको छ ।

मुख्यमन्त्री लामाले बागमतीमा मोटो रकम असुलेर ट्याक्सीमा सिन्डिकेट लगाएको आरोपहरु बाहिरिएपछी अहिले यो विषयमा अख्तियारले समेत चासो देखाएको छ। अख्तियार श्रोतका अनुसार छिट्टै लामामाथी अनुसन्धान प्रक्रिया अगाडि बढ्नेछ।

बागमति प्रदेशमा कांग्रेसका ३७ सदस्य छन् । बहुमतका लागि १९ जनाको समर्थन आवश्यक हुन्छ । प्रदेश अध्यक्ष बानियाँलाई दलको नेता समर्थन गर्दै २१ प्रदेश सभा सदस्यले दलको कार्यालयमा हस्ताक्षर दर्ता गरिसकेका छन् ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com