चितवन । चितवनको चनौली वितरण केन्द्रमा उत्पन्न विद्युत आपूर्तिसम्बन्धी समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सोमबार बिहानै चितवन पुगेका छन्। पछिल्लो समय केही क्षेत्रमा लोडसेडिङको चर्चा तीव्र बनेको बेला उनी समस्या समाधानका लागि फिल्डमा पुगेका हुन्।

“चनौली वितरण केन्द्रमा देखिएको प्राविधिक समस्या समाधानका लागि मर्मत कार्य तीव्र गतिमा भइरहेको छ,” शाक्यले बताए। “समस्या सक्दो छिटो समाधान गरी नियमित विद्युत आपूर्ति पुनःस्थापित गर्न म आफैं चितवन आएको हुँ।”

advertisement

उनले प्राविधिक टोलीसँग समन्वय गर्दै समस्या पहिचान र समाधान प्रक्रियालाई तिव्रता दिएको जनाए। “बिहानै चितवन आइपुगेको हुँ, मेरा टिमका साथीहरूसँग निरन्तर छलफल गर्दैछु,” उनले भने, “आजै बेलुका भित्र समस्या समाधान हुने र भोलिदेखि नियमित आपूर्ति सुरु हुने अपेक्षा छ।”

शाक्यले भरतपुर वितरण केन्द्रको निरीक्षणसमेत गरेका छन्। निरीक्षणपछि उनले त्यहाँ देखिएका समस्या र सुधारका उपायबारे सम्बन्धित अधिकारीहरूसँग छलफल गरेका छन्।

यसै क्रममा उनले मधेस प्रदेशको जनकपुर क्षेत्रसम्म पुगेर त्यहाँ सञ्चालनमा रहेका डिप बोरिङ प्रणाली र त्यसले विद्युत आपूर्तिमा पार्ने प्रभावका विषयमा पनि अनुगमन गर्ने योजना रहेको जानकारी दिए। उनले जनकपुर क्षेत्रमा भइरहेको कामको स्थलगत निरीक्षणमार्फत सम्भावित प्राविधिक समस्याहरूको पहिचान र समाधानमा केन्द्रित हुने बताए।

कार्यकारी निर्देशक शाक्यको स्थलगत निरीक्षणले चनौलीसहित प्रभावित क्षेत्रहरूमा नियमित विद्युत सेवा पुनः सञ्चालन हुनेमा उपभोक्ताहरू आशावादी बनेका छन्।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com