काठमाडौं । थाईल्यान्डको राजधानी बैंककस्थित एक खाद्य बजारमा सोमबार गोलीकाण्ड भएको छ। घटनामा कम्तीमा तीनजनाको मृत्यु भएको पुष्टि थाई प्रहरीले गरेको छ।
बैंककको “ओर टोर कोर” नामक व्यस्त बजार क्षेत्रमा अचानक गोली चल्दा एकजना व्यक्ति गम्भीर घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार घटनामा संलग्न रहेको शंकामा रहेका व्यक्तिको समेत मृत्यु भएको बताइएको छ।
प्रहरीका अनुसार आक्रमणको उद्देश्यबारे हाल अनुसन्धान जारी रहेको छ। घटनास्थलबाट प्राप्त जानकारीको आधारमा अनुसन्धान अघि बढाइएको र सुरक्षाको दृष्टिकोणले बजार क्षेत्रमा सतर्कता बढाइएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृतकमध्ये केही सुरक्षागार्ड रहेको जनाइएको छ। गोलीकाण्डले बजार क्षेत्रमा एकछिन त्रासको अवस्था सिर्जना गरेको थियो।
थाई प्रहरीले घटनाबारे थप विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार













प्रतिक्रिया