काठमाडाैं । रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई तीर्थालु मृत अवस्थामा फेला परेका छन्। मृतकहरू मोरङ जिल्ला निवासी २८ वर्षीय सुजन ढकाल र मनोज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले पुष्टि गरेको छ।
शनिबार (साउन ११ गते) स्नान गर्ने क्रममा कुण्डमा डुबेर हराएका ती युवाको खोजी कार्य नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयको समन्वयमा सञ्चालन गरिएको थियो। श्रीनाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले स्थानीय स्रोत-साधनको प्रयोग गरी कुण्डबाट दुवै जनाको शव निकालेको हो।
जिल्ला प्रहरी प्रमुख एसपी हेमबहादुर शाहीका अनुसार, शवहरू फेला परेपछि आवश्यक प्रक्रिया पूरा गरी प्रहरीलाई बुझाइनेछ। प्रारम्भिक अनुमानअनुसार, तीर्थालुहरू कुण्डको गहिरो भागमा पसेर स्नान गर्दा डुबेको हुनसक्ने बताइएको छ।
प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा साउन महिनाभर श्रद्धालुहरूको भीड लाग्ने गर्छ। तीर्थयात्राका क्रममा सुरक्षाबारे सचेतना आवश्यक रहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार













प्रतिक्रिया