काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा ‘पर्यटनीति २०८२’ सार्वजनिक गर्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समृद्धिका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताए।

advertisement

उनले भने, “निजी क्षेत्र आत्मविश्वासका साथ अगाडि बढोस्, सरकार पूर्ण समन्वय र सहकार्यका लागि तयार छ। निजी क्षेत्रको सक्रियता बिना सकारात्मक परिणाम हासिल गर्न सकिँदैन। हामी सहकार्यमा विश्वास गर्छौं।”

मन्त्री पाण्डेले संघीय संरचनासँग मेल खाने गरी मन्त्रालय नीतिगत रूपमा अघि बढिरहेको जनाउँदै संविधानसभाबाट २०७२ मा जारी भएको संविधान कार्यान्वयन गर्न मन्त्रालय गम्भीर रहेको उल्लेख गरे।

उनका अनुसार संस्कृति नीति र हवाई नीति हाल मन्त्रिपरिषद्को विधेयक समितिमा छलफलको चरणमा छन् भने मन्त्रालयमार्फत १३ वटा विधेयकहरू अघि बढाइसकिएको जानकारी पनि दिए।

सन् २०६५ मा लागू भएको पर्यटन नीतिलाई प्रतिस्थापन गर्दै ल्याइएको नयाँ ‘पर्यटनीति २०८२’ मा “अद्वितीय पर्यटकीय गन्तव्य: नेपाल” भन्ने मूल अवधारणा समेटिएको छ।

मन्त्री पाण्डेले भने, “नेपाललाई आकर्षक जीवनपर्यन्त अनुभव दिने, सुरक्षित, भरपर्दो र दिगो गन्तव्यका रूपमा विकास गर्न यो नीति ल्याइएको हो। यसले राष्ट्रिय अर्थतन्त्रलाई समेत मजबुत बनाउन सहयोग पुर्‍याउने विश्वास लिएको छ।”

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com