काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्व र गतिविधिसम्बन्धी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भइरहेका टीका–टिप्पणीप्रति गम्भीर आपत्ति जनाएका छन्।
पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शर्माबीच विचारभिन्नताको चर्चा भइरहँदा उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक टिप्पणी गरेका हुन्।
सोमबार फेसबुकमा स्टाटस लेख्दै शर्माले यस्ता टिप्पणीहरू व्यक्तिगत हितअनुसारको व्याख्या हुन नहुने स्पष्ट पारेका छन्। शर्माले लेखेका छन्, “हाम्रो पार्टीबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भइरहेका टीका–टिप्पणीले मेरो गम्भीर ध्यानाकर्षण गराएको छ।”
उनले आंशिक पक्षको आधारमा होइन, समग्र परिस्थिति र पृष्ठभूमि हेरेर मात्रै धारणा बनाउन आग्रह गरेका छन्। “आफ्नो अनुकूल व्याख्या गर्नुको सट्टा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गर्दछु,” स्टाटसमा उल्लेख छ।
शर्माको यो भनाइ अध्यक्ष प्रचण्डसँगको कथित असमझदारी र आन्तरिक किचलोबारे विभिन्न कोणबाट भइरहेका टिप्पणीप्रति लक्षित देखिएको छ।
उनको अपिलले पार्टीभित्रको बहसलाई संयमित ढंगबाट अघि बढाउन चाहेको संकेत गर्छ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार













प्रतिक्रिया