कञ्चनपुर । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का नेताहरूबीच कञ्चनपुरमा आन्तरिक छलफलका क्रममा झगडा हुँदा सुदूरपश्चिम इन्चार्ज रामचन्द्र भट्ट गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी सागर बोहराका अनुसार भट्टको टाउकोमा गहिरो चोट लागेको छ र सात वटा टाँका लगाइएको छ। उनलाई थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको हो।
कुटपिटमा संलग्न रहेको आरोपमा माओवादी केन्द्रका कार्यकर्ता भुवन विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विष्ट कञ्चनपुरको वेदकोट नगरपालिका–८ निवासी हुन्। डीएसपी बोहराले भने, “अस्पताल पुगेपछि घटनाबारे जानकारी पायौं, आरोपितलाई नियन्त्रणमा लिएका छौं र घटनाबारे थप अनुसन्धान जारी छ।”
घटनाको कारण खुल्न नसकेको भए पनि विवाद पार्टी कार्यालयमै भएको आन्तरिक छलफलका क्रममा भएको बताइएको छ।
यसैबीच, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कञ्चनपुरले आक्रमणमा संलग्न भीमदत्त नगरपालिका कमिटी सदस्य भुवन विष्टलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको जनाएको छ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार













प्रतिक्रिया