काठमाडौं । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सम्बन्धी सेवा प्रणालीलाई डिजिटल माध्यमबाट सुलभ बनाउँदै ‘श्रम संसार’ पोर्टललाई ‘नागरिक एप’सँग एकीकृत गरेको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री शरत सिंह भण्डारी र राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले एकीकृत प्रणालीको औपचारिक उद्घाटन गरे। उद्घाटनपछि मन्त्री भण्डारीले श्रम मन्त्रालयले उपलव्ध गराउँदै आएको सेवा अबदेखि नागरिक एपबाटै सहज रूपमा प्राप्त गर्न सकिने जानकारी दिए।
उनका अनुसार सेवाको पहुँच बढाउने उद्देश्यले डिजिटल फ्रेमवर्क निर्माण र विस्तारमा मन्त्रालयले प्राथमिकता दिएको छ। नागरिक एपसँग पोर्टल जोडिएपछि श्रमिकले सेवा प्राप्तिका लागि विभिन्न वेबसाइटमा जानुपर्ने वा भनसुन गर्नु पर्ने अवस्था अन्त्य हुने मन्त्रालयको दाबी छ।
श्रम संसार पोर्टलमा कन्सुलर सेवा, उद्धार मोड्युल, फोटो तथा भिडियो अपलोड, च्याटबोट र लोकेसन ट्र्याकिङ जस्ता सुविधाहरू विस्तार गरिएको मन्त्री भण्डारीले जानकारी दिए। उनले प्रविधिमैत्री प्रणालीबाट वैदेशिक रोजगारीमा रहेका श्रमिकले आपतकालीन अवस्थामा छिटो सेवा पाउने विश्वास व्यक्त गरे।
कार्यक्रममा श्रममन्त्रीका श्रम विज्ञ सल्लाहकार युवराज बस्नेतले मन्त्रालयले तयार पारेको रणनीतिक डिजिटल रोडम्याप प्रस्तुत गरे। उनले सन् २०३० भित्र श्रम, रोजगार तथा सामाजिक सुरक्षासम्बन्धी सम्पूर्ण सेवा एकीकृत गर्दै कृत्रिम बुद्धिमत्ता (AI) र मेसिन लर्निङ प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह गरिने बताए।
राष्ट्रिय योजना आयोगका सदस्य डा. श्रेष्ठले डिजिटल प्रणालीको विकास सकारात्मक रहेको बताउँदै सबै नागरिकले सेवा उपयोग गर्न सक्ने गरी डिजिटल पहुँचको सुनिश्चितता आवश्यक रहेको धारणा राखे। उनले सूचना प्रणाली सोह्रौं योजना कार्यान्वयनको मूल आधार हुने उल्लेख गरे।
आन्तरिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार अबको श्रम तथा रोजगार सेवा प्रविधिमा आधारित हुनेछ। उनले त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारको प्रक्रिया अघि बढाइएको जानकारी दिए।
मन्त्रालयका अनुसार हालसम्म देशभरका ६८९ पालिका श्रम संसार पोर्टलमा आबद्ध भइसकेका छन्। मन्त्रालयले प्रविधिको माध्यमबाट सेवा प्रवाहमा पारदर्शिता, तीव्रता र कार्यक्षमता बढाउने लक्ष्य लिएको छ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार













प्रतिक्रिया