एजेन्सी ।  थाइल्यान्ड र कम्बोडियाले पाँच दिनसम्म चलेको हिंसात्मक लडाइँपछि युद्धविराममा सहमति जनाएका छन्। सोमबार मलेसियामा आयोजित शान्ति वार्तामा दुवै देशले तत्काल र बिना सर्त युद्धविराम गर्ने सहमति जनाएका हुन्।

लडाइँमा कम्तीमा ३५ जनाको ज्यान गएको छ भने दुई लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्। विवादित सीमावर्ती क्षेत्रमा तोप, रकेट र बन्दुकको व्यापक प्रयोग भएपछि ठूलो मानवीय क्षति भएको हो। सो क्षेत्र प्राचीन मन्दिरहरूको लागि चर्चित छ र लामो समयदेखि थाइल्यान्ड र कम्बोडियाबीचको विवादको केन्द्रबिन्दु बनेको छ।

advertisement

विवादको मूल जरो सन् १९०७ मा फ्रान्सेली उपनिवेशकालमा गरिएको अस्पष्ट सीमांकन हो। सोही कारण सन् २००८ देखि २०११ सम्म पनि यस क्षेत्रमा भीषण हिंसा भएको थियो। यसपटकको हिंसा त्यसपछिको सबैभन्दा घातक भिडन्त भएको बताइएको छ।

युद्धविराममा थाई कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइ र कम्बोडियाका प्रधानमन्त्री हुन मानेट बीच सहमति भएको हो। मलेसियाका प्रधानमन्त्री तथा आसियान अध्यक्ष अनवर इब्राहिमको पहलमा उनीहरूबीचको भेटवार्ता सम्पन्न भएको थियो। युद्धविराम सोमबार मध्यरातबाट लागू हुने जनाइएको छ।

यसबीच अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि विवाद समाधानका लागि हस्तक्षेप गर्दै दुवै पक्षलाई शीघ्र समाधानमा पुग्न आग्रह गरेका थिए।

हाल युद्धविराम भए पनि दुबै पक्षले एक अर्कामाथि शान्ति प्रयासमा अवरोध पुर्‍याएको आरोप लगाएका छन्। थाइल्यान्डले क्लस्टर बम प्रयोग र अस्पतालमा हमला भएको दाबी गरेको छ भने कम्बोडियाले पनि नागरिक केन्द्रहरूलाई निशाना बनाइएको आरोप लगाएको छ।

थाईल्यान्डले आफ्ना ८ सैनिक र १४ सर्वसाधारणको मृत्यु भएको जनाएको छ भने कम्बोडियाले ५ सैनिक र ८ सर्वसाधारण मारिएको पुष्टि गरेको छ।

थाई सेनाले लडाइँमा मारिएका १२ जना कम्बोडियाली सैनिकको शव फिर्ता गरेको छ। हिंसाका कारण थाइल्यान्डका सीमावर्ती क्षेत्रबाट १ लाख ३८ हजारभन्दा बढी मानिस सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् भने कम्बोडियामा झण्डै ८० हजार मानिस घरबारविहीन भएका छन्।

थाइल्यान्डले आफ्नो देशमा बसोबास गरिरहेका कम्बोडियाली आप्रवासीहरूमाथि कुनै पनि प्रकारको हिंसा नगर्न आफ्ना नागरिकलाई चेतावनी दिएको छ। राष्ट्रवादी उत्तेजनालाई नियन्त्रणमा लिन दुबै देश सचेत देखिएका छन्।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com