काठमाडौं । चार दलीय समाजवादी मोर्चाको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा तय गरिएको मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
प्रवक्ता विश्वकर्माका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिनुका साथै मोर्चालाई थप सक्रिय र प्रभावकारी बनाउने विषयमा छलफल हुने छ । साथै, मोर्चाको आगामी कार्यदिशा, नीति तथा कार्यक्रम तय गर्ने विषय पनि बैठकको एजेन्डामा रहेको छ ।
मोर्चाका संयोजक तथा नेकपा (विप्लव) का महासचिव नेत्रविक्रम चन्दले पछिल्लो समय मोर्चा निष्क्रिय बनेकोप्रति असन्तोष जनाउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गर्दै चिन्ता व्यक्त गरिसकेका छन् ।
गत चैत १५ गते काठमाडौंमा आयोजित विरोधसभापछि मोर्चाले कुनै पनि कार्यक्रम नगरेको र लगातार बैठक आह्वान गर्दा पनि प्रमुख नेताहरूको चासो नदेखिएको भन्दै चन्द असन्तुष्ट देखिएका छन् ।
साउन १ गते पुनर्गठन गरिएको यो मोर्चामा नेकपा (विप्लव), नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी सहभागी छन् ।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया