धनगढी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले देशमा हाल कुनै पनि लोडसेडिङ नरहेको स्पष्ट पारेका छन् ।
धनगढीमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युत् निर्यातसमेत भइरहेको अवस्थालाई संकेत गर्दै लोडसेडिङसम्बन्धी अफवाहहरूमा विश्वास नगर्न आग्रह गरे ।
“वर्तमान समयमा हामी विद्युत् निर्यात गरिरहेका छौँ,” मन्त्री खड्काले भने, “गर्मीका कारण विद्युत् खपत उच्च भएपछि कतिपय स्थानमा ट्रिपिङको समस्या देखिएको हो, तर त्यो लोडसेडिङ होइन।”
उनका अनुसार वर्षायाममा चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुग्ने, मर्मतका लागि समय लाग्ने जस्ता कारणले केही असहज अवस्था देखिएको हो, जसलाई केहीले लोडसेडिङको रूपमा भ्रम सिर्जना गरिरहेका छन् ।
मन्त्री खड्काले यस्ता प्रवृत्तिबाट सावधान रहन र यथार्थ बुझेर मात्र टिप्पणी गर्न सबैलाई आग्रह गरे ।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया