काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक संघ–संस्थाहरूमा पार्टीका नेता–कार्यकर्ताको सक्रियता बढाउन र माओवादीको मौलिक सोचअनुसार ती संस्थाहरू सञ्चालन गर्न निर्देशन दिएका छन् ।
आज काठमाडौंमा पार्टीको समाज कल्याण विभागद्वारा आयोजित ‘सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले परम्परागत ढंगले सञ्चालन भइरहेका संघ–संस्थामा सकारात्मक हस्तक्षेप गरेर जनताको हितमा पुनःसंरचना गर्नुपर्ने बताए ।
“हाम्रो सक्रियता र वैचारिक स्पष्टताले मात्रै ‘माओवादीहरूले राम्रो गर्छन्’ भन्ने जनविश्वास कायम गर्न सकिन्छ,” उनले भने, “नेपाली समाजवादको स्वरूप कस्तो हुन्छ भन्ने कुरा सामाजिक संघ–संस्थामा हाम्रो भूमिका कस्तो हुन्छ भन्ने कुरासँग जोडिएको छ ।”
उनले सहकारी क्षेत्रमा देखिएको भ्रष्टाचारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै परम्परावादी दलहरूको प्रभावका कारण ती संस्थामा व्यापक बेथिति देखिएको बताए । “हामी संसदवादी दलाल पुँजीवादीहरू भन्छौं, तर उनीहरूकै शैलीमा संस्था सञ्चालन गर्दा फरकपन देखिँदैन,” उनले भने, “हामीले नेतृत्व लिएका संस्था माओवादी विचारअनुसार चल्नुपर्छ र जनताले फरक महसुस गर्नुपर्छ ।”
अध्यक्ष दाहालले माओवादी कार्यकर्ताहरू विभिन्न संघ–संस्थामा संलग्न भए पनि खुल्न नचाहने प्रवृत्ति हटाएर, स्पष्ट पहिचानसहित काम गर्नुपर्ने बताए । “जहाँ हाम्रो उपस्थिति छ, ती संस्था उत्कृष्ट बन्नुपर्छ,” उनले भने, “सामाजिक संघ–संस्थालाई कसरी बुझ्ने भन्नेमा पार्टीले लिएको धारणा तल्लो तहसम्म पुग्न जरुरी छ ।”
उनले माओवादीको मूल विचार, त्याग र बलिदानको इतिहासलाई व्यवहारमै प्रतिबिम्बित हुने गरी नीति, कार्यदिशा र एकरूपता आवश्यक रहेको उल्लेख गरे ।
सरकारमा रहँदा सामाजिक संघ–संस्थाको बजेट सरकारको बजेटसँग दोहोरिन सक्ने समस्याको समाधानका लागि पहल लिइएको स्मरण गर्दै अध्यक्ष दाहालले विदेशी दातृ निकायहरूले खर्च गर्ने रकमलाई राज्यको लेखाभित्र ल्याउने प्रयास गरिएको बताए ।
उनले माओवादी केन्द्रले अघि सारेको स्वतन्त्र र राष्ट्रिय अर्थतन्त्रको अवधारणा अन्य पार्टीको सोचभन्दा स्पष्ट रूपमा भिन्न रहेको उल्लेख गर्दै, सो विचारलाई तल्लो तहसम्म प्रभावकारी रूपमा बुझाउन जरुरी रहेको धारणा राखे ।
“हाम्रो विचार, कार्यशैली र दृष्टिकोण अरू पार्टीभन्दा फरक छ भन्ने कुरा व्यवहारमै जनताले अनुभूत गर्नुपर्छ,” अध्यक्ष प्रचण्डले जोड दिए ।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया