न्युयोर्क । अमेरिकाको म्यानहाटनमा एक शख्सले अन्धाधुन्ध गोली प्रहार गरी चार जनाको ज्यान लिएपछि आफैंमाथि गोली हानी आत्महत्या गरेका छन् । ज्यान गुमाउनेमध्ये एक जना न्यूयोर्क सिटी प्रहरीका अधिकारीसमेत रहेका छन् ।
एशोसिएटेड प्रेसका अनुसार सोमबार बिहान एक अफिस टावरमा प्रवेश गरेका लस भेगस निवासी शेन तामुराले राइफलबाट अन्धाधुन्ध गोली चलाएका थिए । घटनामा तीन पुरुष र एक महिलाको ज्यान गएको हो भने पाँचौं व्यक्तिलाई गोली लागेर गम्भीर घाइते बनाएका थिए । त्यसपछि उनले आफैंमाथि गोली हानी आत्महत्या गरेका हुन् ।
न्यूयोर्क प्रहरी कमिस्नर जेसिका टिस्चका अनुसार शेन मानसिक स्वास्थ्य समस्याबाट पीडित थिए भन्ने प्रारम्भिक विवरण प्राप्त भएको छ । तर उनले यस्तो भयावह कदम किन चाले भन्नेबारेमा भने अनुसन्धान जारी छ ।
“उनले त्यस अफिस भवनमा आएर किन गोली प्रहार गरे भन्नेबारे हामी विस्तृत रूपमा अनुसन्धान गरिरहेका छौं,” कमिस्नर टिस्चले बताइन् ।
सिसिटिभी फुटेजअनुसार उनी बिहान साढे ६ बजे राइफल लिएर बाहिर निस्किएको देखिन्छ । केही समयपछि उनी सो अफिस टावरमा प्रवेश गरी गोली चलाउन थालेका थिए ।
ज्यान गुमाउने प्रहरी अधिकारी दिदारूल इस्लाम ३६ वर्षीय बंगलादेशी मूलका अमेरिकी नागरिक हुन् । उनले अन्य नागरिकको सुरक्षाका क्रममा ज्यान गुमाएको कमिस्नर टिस्चले बताइन् ।
“उनी एक सच्चा नायक हुन् । उनले आफ्नो ज्यान जोखिममा राखेर जिम्मेवारी निर्वाह गरे,” टिस्चले भनिन्, “हामीले गुमाएको प्रहरी जवान सधैँ सम्झनायोग्य रहनेछ ।”
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया