काठमाडौं । थाई सेनाले कम्बोडियासँगको सीमामा घण्टौं लामो युद्धविराम उल्लंघन गर्दै सशस्त्र आक्रमण गरेको आरोप कम्बोडियाले लगाएको छ। मलेसियामा भएको शान्ति वार्तापछि दुवै देशले मध्यरातदेखि बिनासर्त युद्धविराम सुरु गर्ने सहमति गरेका थिए। तर, थाई सेनाले त्यसको उल्लंघन गरेको थाई सेनाका प्रवक्ताले नै बताएका छन्।
थाई सेनाका प्रवक्ता विन्थाई सुवेरीका अनुसार युद्धविराम लागू भए पनि कम्बोडियाली सेनामाथि थाई क्षेत्रमा धेरै ठाउँमा आक्रमण गरिएको छ। उनले यो आक्रमण आपसी विश्वासको उल्लंघन भएको र थाई सेनाले आत्मरक्षाको अधिकार प्रयोग गर्दै उचित जवाफ दिएको दाबी गरे।
तर, कम्बोडियाका रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटले भने कुनै पनि सैन्य झडप नभएको दाबी गरे। यद्यपि दुवै पक्षले सीमामा निर्धारित कमाण्डरस्तरीय बैठकहरू सुरु भइसकेको वा सुरु हुने जानकारी दिएका छन्।
थाई सहर सुरिनका एक स्थानीय बासिन्दा किटिसाक सुकविलाईले दुई देशका नेताहरूको फोटोप्रति आशंका व्यक्त गरे। ‘नेताहरू हात मिलाउँदै गरेको फोटो देखियो, तर त्यो नक्कली मुस्कान मात्र हो कि भन्ने शंका लाग्छ,’ उनले भने, ‘त्यो हातले पछाडिबाट छुरा हान्ने तयारी नगरोस् भन्ने आशा छ।’
त्यस्तै, कम्बोडियाको सामराओङ सहरमा रहेका एएफपीका पत्रकारले युद्धविराम लागू भएपछि विस्फोटको आवाज रोकिएको र स्थिति सामान्य बनेको बताए।
गत बिहीबारदेखि सुरु भएको द्वन्द्वमा हालसम्म कम्तीमा ३८ जनाको मृत्यु भइसकेको छ भने झन्डै तीन लाख मानिस विस्थापित भएका छन्। यस तनावको कारण अमेरिका र चीनको समेत चासो बढेको छ।
कमजोर सीमाङ्कनकै कारण वर्षौंदेखि विवादित रहेको यो क्षेत्र २००८ देखि हिंसाको चपेटामा परेको थियो। अहिलेको तनाव पछिल्ला वर्षहरूको सबैभन्दा घातक भिडन्त हो।
कम्बोडियाली विस्थापित फेन नेथले युद्धविरामको खबरले आफूलाई खुशी बनाएको बताए। ‘म धेरै खुसी छु किनकि म आफ्नो घर र सामानहरू सम्झन्छु,’ उनले भने।
युद्धविरामपछि मलेसिया, अमेरिका, र संयुक्त राष्ट्रसंघले दुवै पक्षलाई सम्झौताको पूर्ण कार्यान्वयन गर्न र दीर्घकालीन समाधानतर्फ अघि बढ्न आग्रह गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा भएको संवाद र शान्ति प्रयासलाई थाई र कम्बोडियाली नेताहरूले स्वागत गरेका छन्।
युद्धविरामसँगै व्यापार सम्झौता र भन्सार शुल्कसम्बन्धी सहमति खोज्ने प्रयास जारी छ। मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमको पहलमा भएको वार्तामा चीनले समेत सक्रिय भूमिका खेलेको बताइएको छ।
थाई राजा महा भाजिरालोङ्गकोर्नको जन्मदिनका लागि तय गरिएको सार्वजनिक समारोह भने द्वन्द्वको कारण रद्द गरिएको छ।
थाईल्यान्डले आठ सैनिक र १४ सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेको छ भने कम्बोडियाले पाँच सैनिक र आठ सर्वसाधारणको मृत्यु भएको जनाएको छ। थाई सीमाबाट १ लाख ३८ हजारभन्दा बढी मानिस पलायन भएका छन् भने कम्बोडियाबाट १ लाख ४० हजार मानिस विस्थापित भएका छन्।
युद्धविरामले तत्काल राहत दिए पनि दीर्घकालीन समाधानका लागि गहिरो कूटनीतिक प्रयास आवश्यक देखिएको छ।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया