काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वालाले माओवादी केन्द्रबाट पार्टी एकताको प्रस्ताव आएको बताएका छन्।
उनका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हालै यस्तो प्रस्ताव आए पनि एकीकृत समाजवादीले तत्काल एकताका लागि ठोस निर्णय गरेको छैन। ज्वालाले अनलाइनखबरसँग कुरा गर्दै भने, “माओवादीबाट एकता गरौं भन्ने प्रस्ताव आएको छ, तर हामीले त्यसबारे निष्कर्ष निकाल्नेगरी छलफल गरेका छैनौं।”
उनका अनुसार समाजवादी मोर्चालाई प्रभावकारी बनाउने विषयमा भने दलहरूबीच छलफल जारी छ। पार्टी एकीकरणभन्दा आफ्नै संगठनलाई बलियो बनाउने कुरामा प्राथमिकता दिएको उनले स्पष्ट पारे।
“हामीले एमालेसँग वा माओवादीसँग मिल्ने भन्ने गरी कुनै औपचारिक छलफल गरेका छैनौं। हाम्रो ध्यान पार्टी निर्माण र आगामी अधिवेशन तयारीतर्फ केन्द्रित छ,” उनले भने।
यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकता विषयमा अनौपचारिक छलफल भएको थियो।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया