भक्तपुर । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनतामा रहेको धार्मिक आस्था जोगाउन धार्मिक क्षेत्रहरूको संरक्षण आवश्यक रहेको बताएका छन्।
भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित कलममसीमा मंगलबार आयोजित १३औं नागपञ्चमी मेला तथा कालिनागको विशेष रुद्री पूजामा सहभागी हुँदै उपप्रधानमन्त्री सिंहले धार्मिक स्थलहरूको संरक्षण तथा प्रवर्द्धनमा सरकार गम्भीर रहेको उल्लेख गरे।
“धार्मिक आस्थाको जगेर्ना गर्न हामी सबैले भूमिका खेल्नुपर्छ,” सिंहले भने, “धार्मिक क्षेत्रको संरक्षण गर्न सकेमा कलममसी क्षेत्र धार्मिक पर्यटनको केन्द्र बन्न सक्छ।”
कार्यक्रममा श्री कलममसी कल्पेश्वर महादेव तथा कालिका देवी संरक्षण समाजले निर्माण गरिरहेको १०८ फिट अग्लो महादेव मन्दिरको बारेमा जानकारी दिइएको थियो। सो स्थानमा ७ फिट लामो कालिनाग मन्दिरसमेत अवस्थित छ। सिंहले मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै काम विस्तारै भए पनि अगाडि बढ्ने विश्वास व्यक्त गरे।
उनले खडेरीको असरबारे चिन्ता व्यक्त गर्दै वातावरण जोगाउनेतर्फ सबैले ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले मन्दिर निर्माणमा सहकार्य गर्ने प्रतिवद्धता जनाउँदै उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिए। उनले चाँगुनारायण मन्दिरदेखि कल्पेश्वर क्षेत्रसम्म धार्मिक दृष्टिले महत्वपूर्ण स्थल भएकाले यसको संरक्षण र विकासमा नगरपालिका क्रियाशील रहेको बताए।
सो अवसरमा प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, उपत्यका विकास प्राधिकरणकी आयुक्त जानुका ढकाललगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया