काठमाडौं । कम्युनिस्ट आन्दोलनमा देखिएको बढ्दो अन्योल र संकटको समाधानका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताको प्रस्ताव अघि सारेका छन्। पछिल्ला दिनमा प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भएको संवादमा प्रचण्डले औपचारिक रूपमा यस्तो प्रस्ताव राखेका हुन्।
‘अहिले हामी सबै संकटमा छौं,’ प्रचण्डले माधव नेपालसँगको कुराकानीमा भनेका छन्, ‘हामी एक भएर अघि बढ्न सके यो संकट सजिलै पार गर्न सक्छौं।’
यद्यपि, अध्यक्ष माधव नेपाल भने तत्काल पार्टी एकताका पक्षमा नरहेको संकेत दिएका छन्। उनले प्रचण्डको प्रस्तावमा तत्काल सहमति जनाउनुभन्दा अघि पार्टीभित्र सल्लाह गरेर निर्णय गर्ने बताएका छन्।
गत आइतबार प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्ता र त्यसपछि सोमबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको छलफलमा दुवै पार्टीका शीर्ष नेताहरू सहभागी थिए। यी लगातारका संवादहरूमा कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, पार्टीहरू बीचको सम्भावित सहकार्य र एकताको सम्भावनाबारे छलफल भएको थियो।
नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले भने भेटघाटहरूमा अनौपचारिक रूपमा मात्र विचारविमर्श भइरहेको बताए। ‘औपचारिक रूपमा पार्टी एकताका लागि कुनै पहल भएको छैन,’ ज्वालाले स्पष्ट पारे, ‘तर कम्युनिस्ट आन्दोलन र आन्तरिक चुनौतीबारे नेताहरूबीच संवाद हुनु स्वाभाविक हो।’
प्रचण्डको प्रस्तावबारे माधव नेपालले आफ्नो पार्टीभित्र व्यापक छलफल गरी मात्र निर्णय लिने भनाइ राखेको स्रोतहरू बताउँछन्। ‘हामी अहिले पार्टी निर्माण र सशक्तीकरणमा केन्द्रित छौं,’ नेता नेपालले भनेको उद्धृत गर्दै स्रोतले जनाएको छ, ‘हडबडीमा गरिने एकता दीर्घकालीन हुँदैन।’
ज्वालाले थप स्पष्ट पारे, ‘अहिलेसम्म कसैसँग औपचारिक रूपमा एकताको छलफल भइसकेको छैन। सहकार्य र साझा मुद्दामा सहमति बनाउने प्रयासहरू भइरहेका छन्।’
पार्टी एकताको प्रस्तावले कम्युनिस्ट राजनीति पुनर्गठित गर्ने सम्भावना बोकेको भए पनि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी भने सावधानीपूर्वक अगाडि बढ्न खोजिरहेको देखिन्छ।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया