धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले रानीजमरा–कुलरिया सिँचाइ तथा जलविद्युत् आयोजनाको मंगलबार एक विशेष कार्यक्रमकाबीच उद्घाटन गरेका छन्। राष्ट्रिय गौरवका परियोजनामा सूचीकृत उक्त आयोजनाले १४ हजार ३ सय हेक्टरमा सिँचाइ सुविधा पुर्याउनुका साथै ४.७१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ।
प्रधानमन्त्री ओली उद्घाटनका लागि विशेष कार्यक्रमका लागि कैलाली पुगेका थिए। उनले लम्कीचुहा नगरपालिका–३ स्थित चिसापानीमा कर्णाली नदीको मुहान अवलोकन गरी आयोजनाको स्थलगत निरीक्षण गरे। त्यसपछि उनी जानकी गाउँपालिका–९ कटासे पुगेर निर्माण सम्पन्न विद्युत् गृहको उद्घाटन गरे।
यो आयोजना दुई चरणमा निर्माण गरिएको हो। आर्थिक वर्ष २०६७/६८ मा सुरु भएको आयोजनाको पहिलो चरण २०७४/७५ मा र दोस्रो चरण २०८०/८१ मा सम्पन्न भएको हो। आयोजनाको सफल कार्यान्वयनसँगै हाल १४,३०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ भने उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
अद्यावधिक मास्टर प्लान अनुसार यो आयोजना २०७९/८० भित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको थियो। हालसम्म कुल २० अर्ब ५८ करोड ५६ लाख रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ। यसले आयोजनाको ७५ प्रतिशत भौतिक प्रगति प्रतिबिम्बित गर्छ।
कुल अनुमानित लागत २९ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ रहेको यो आयोजना नेपाल सरकार र विश्व बैंकको सहकार्यमा अघि बढाइएको हो। जसमा नेपाल सरकारको ११ अर्ब २३ करोड ३३ लाख र विश्व बैंकको ९ अर्ब ३५ करोड २३ लाख लगानी रहेको छ।
लम्की शाखातर्फ १४.६५ किलोमिटर मूल नहरको निर्माण सम्पन्न भइसकेको छ। अब शाखा र उपशाखा नहरहरू विस्तार गरिसकेपछि अतिरिक्त ६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ। यससँगै कुल सिँचाइ क्षेत्र २० हजार ३ सय हेक्टर पुग्नेछ।
करिब १२० वर्षअघि स्थानीय किसानहरूले सुरु गरेको परम्परागत सिँचाइ प्रणालीलाई आधुनिकीकरण गरी यो आयोजना निर्माण गरिएको हो। यसले कैलाली जिल्लाको कृषि विकास, जलस्रोत व्यवस्थापन र ऊर्जा आपूर्तिमा दीर्घकालीन योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यस अवसरमा प्रधानमन्त्री ओलीले सिँचाइ र ऊर्जा क्षेत्रमा यस्ता पूर्वाधारले मुलुकको समृद्धिमा निर्णायक भूमिका खेल्ने उल्लेख गर्दै तीनै तहका सरकारबीच समन्वय अपरिहार्य भएको बताए।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया