काठमाडौं । पतञ्जली आयुर्वेदसँग सम्बन्धित जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा सामना गरिरहेका पूर्व भूमिसुधार सचिव छविराज पन्तसँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।
विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई तथा मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलबार पन्तलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार पन्तलाई भ्रष्टाचार मुद्दामा मुद्दा चलिरहेको अवस्थामा धरौटीमा छाड्ने निर्णय गरिएको हो।
यस प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०८१ जेठ २२ गते ९३ जना पूर्व तथा तत्कालीन सरकारी पदाधिकारीहरूविरुद्ध भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि प्रतिवादीका रूपमा रहेका छन्।
आरोपपत्रअनुसार, २०६६ माघ १८ गते मन्त्रिपरिषद्को निर्णयले पतञ्जलीलाई हदबन्दी छुटमा ८१५ रोपनी जग्गा खरिद गर्न अनुमति दिइएको थियो। पछि २०६६ चैत ६ गतेको अर्को मन्त्रिपरिषद् बैठकले उक्त जग्गा बिक्री गर्न दिने निर्णय गरेको थियो।
तर, भूमिसम्बन्धी ऐन, २०२१ अनुसार उत्पादनमूलक उद्योग वा व्यवसाय सञ्चालनका लागि हदबन्दी छुटमा लिएको जग्गा बिक्री गर्न पाइँदैन। आयोगको अनुसन्धान अनुसार सो जग्गा विभिन्न व्यक्तिहरूलाई बिक्री गरिएको छ, जसले कानुनको उल्लंघन गरेको ठहर गरिएको छ।
यसै आधारमा अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको हो। अन्य आरोपितहरूको सुनुवाइ क्रमशः अगाडि बढ्नेछ।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया