काठमाडौं । समाजवादी मोर्चाले हालसम्मका गतिविधि अपुग रहेको निष्कर्ष निकालेको छ। नेकपा (एकीकृत समाजवादी) को आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकमा हालसम्मको कामकाजको गम्भीर समीक्षा गरिएको हो।
बैठकपछि मोर्चाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड ले जानकारी दिँदै भने, “हालसम्म समाजवादी मोर्चा मूलतः सफल देखिए पनि यो अपेक्षाकृत रुपमा गतिशील बन्न सकेको छैन।” उनले मोर्चालाई थप प्रभावकारी बनाउन तत्काल आवश्यक कदम चाल्नुपर्ने धारणा बैठकमा उठेको उल्लेख गरे।
प्रकाण्डले मोर्चा केवल औपचारिकता पूर्तिको भरमा सीमित हुने हो भने त्यसको कुनै औचित्य नरहने बताए। उनका अनुसार, “अब मोर्चालाई अर्थपूर्ण र जनस्तरीय बनाउँदै विस्तार गर्ने दिशामा अघि बढ्नुपर्ने निष्कर्षमा हामी पुगेका छौँ।”
बैठकमा समाजवादी मोर्चालाई व्यवहारिक र तार्किक ढंगले पुनः संरचना गर्दै अगाडि बढाउनुपर्ने निर्णय गरिएको छ। वर्तमान राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै मोर्चाको कार्यदिशा र कार्यक्रमहरूलाई पुनः परिभाषित गर्ने विषयमा गम्भीर छलफल भएको उनले जानकारी दिए।
मोर्चाले भदौको अन्तिमतिरबाट देशभर जनस्तरमा कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको छ। त्यसबारे बैठकमा रणनीतिक चर्चा गरिएको हो। साथै, देश हाल जटिल मोडमा रहेको भन्दै सही रणनीति नअपनाए राष्ट्रिय संकट गहिरिन सक्ने चेतावनी पनि बैठकले दिएको छ।
समाजवादी मोर्चा भित्रको यो समीक्षा र आगामी कार्यदिशाको बहसले मोर्चाको भविष्यबारे नयाँ बहस प्रारम्भ गराउने देखिन्छ।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया