काठमाडौं । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ का छात्रवृत्तिका लागि दोस्रो चरणको मनोनयन सूची सार्वजनिक गरेको छ। दोस्रो चरणमा कुल ५५४ विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन्।
महानगरको शिक्षा विभागका अनुसार छनोटमा परेका विद्यार्थीमध्ये विज्ञान संकायमा ४१४, व्यवस्थापनमा १०६, कानुनमा ३०, शिक्षा संकायमा ३ र मानविकीमा १ जना रहेका छन्। छनोट सूची योग्यताक्रम र विद्यार्थीले आवेदनमा उल्लेख गरेका शिक्षण संस्थाका प्राथमिकताको आधारमा तयार गरिएको हो।
साउन ३ गते ५४ परीक्षा केन्द्रहरूमा सञ्चालन गरिएको छात्रवृत्ति प्रवेश परीक्षामा १४,१७३ विद्यार्थी सहभागी भएका थिए। कक्षा १० को पाठ्यक्रममा आधारित परीक्षामा गणित, विज्ञान, अङ्ग्रेजी र सामान्य ज्ञानसम्बन्धी १०० अङ्कका बहुवैकल्पिक प्रश्न सोधिएको थियो। परीक्षामा १०,८६७ विद्यार्थीले ४० प्रतिशत कटअफ अङ्क प्राप्त गर्दै सफल भएका थिए।
शिक्षा विभागले प्राप्त १७,२२९ आवेदनमध्ये प्रारम्भिक चरणमा १६,१३७ विद्यार्थी छनोट गरेको थियो। पहिलो चरणको मनोनयन सूची साउन ६ गते प्रकाशित भई साउन ९ भित्र भर्ना प्रक्रिया सम्पन्न भएको थियो। दोस्रो चरणको सूची रिक्त सिटहरूमा प्राथमिकताक्रम र आरक्षण कोटाका आधारमा तयार पारिएको हो।
छनोटमा परेका विद्यार्थीहरूले साउन १५ भित्र [https://entrance.kathmandu.gov.np](https://entrance.kathmandu.gov.np) वेबसाइटमा आफ्नो सिम्बोल नम्बर, जन्म मिति र प्राप्त पासवर्ड प्रयोग गरी मनोनयन पत्र प्रिन्ट गरी सम्बन्धित शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना हुनु पर्ने शिक्षा विभागले जनाएको छ। तोकिएको म्यादभित्र भर्ना नभएमा छात्रवृत्तिमा दाबी गर्न नपाइने र बाँकी रिक्त सिटहरूमा र्यापअप प्रक्रियामार्फत भर्ना गरिने छ।
शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञावालीका अनुसार दोस्रो चरणमा समेत मनोनयन हुन नसकेका तर प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीका लागि साउन १६ पछि रिक्त सिटमा भर्ना सम्बन्धी सूचना प्रकाशित गरिनेछ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार












प्रतिक्रिया