काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा समाजवादी मोर्चाका सक्रिय सदस्य वामदेव गौतमले देशमा मौलाउँदै गएको भ्रष्टाचार, बेथिति र सरकारको दिशाविहीनताविरुद्ध चाँडै देशव्यापी आन्दोलन सुरु हुने घोषणा गरेका छन्।
मंगलबार आलोकनगरस्थित नेकपा एसको केन्द्रीय कार्यालयमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गौतमले मोर्चाले निर्णायक प्रदर्शनको तयारी थालेको जानकारी दिए।
“बैठकमा हालसम्मका गतिविधिको समिक्षा गर्दै अबको रणनीति तय गरिएको छ,” उनले भने, “छिट्टै एक विशाल र सशक्त प्रदर्शन गर्ने निर्णयमा पुगेका छौं।”
सरकारको आलोचना गर्दै गौतमले भने, “देश दिनप्रतिदिन बर्बादीतर्फ अग्रसर भइरहेको छ। यस सरकारको नेतृत्वले भ्रष्टाचारलाई मौन समर्थन दिएको छ। त्यसैले अब मोर्चा चुप बस्दैन।”
उनले स्पष्ट पारे, “हामी भ्रष्टाचार, बेथिति र राष्ट्रलाई संकटतर्फ धकेल्ने गलत राजनीतिक प्रवृत्तिका विरुद्ध सडकमा उत्रिनेछौं।”
गौतमका अनुसार मोर्चाभित्र कुनै मतभेद छैन र सहभागी दलहरू एकमतका साथ साझा आन्दोलनमा जुटिरहेका छन्। “सबै सदस्य पार्टीहरूबीच पूर्ण एकता कायम छ,” उनले बताए, “अब मोर्चालाई अझ सक्रिय बनाउँदै सहमति मिल्न सक्ने अन्य वामपन्थी शक्तिहरूलाई समेत समेट्ने प्रक्रिया अघि बढ्छ।”
बैठकमा आगामी रणनीति, जनसम्पर्क विस्तार, कार्यक्रम सुदृढीकरण र संगठनात्मक पुनर्ताजगीका विषयमा गम्भीर छलफल भएको थियो। मोर्चाले अब सरकारको विरोधमा संगठित प्रतिरोध प्रदर्शनमार्फत जनआन्दोलनको गति तीव्र पार्ने तयारी गरेको गौतमले संकेत गरे।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया