काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार आज मतदान हुनेगरी कार्यतालिका तय गरिएको हो ।
निर्वाचन कार्यक्रम अनुसार, मतदाता नामावली आज बिहान ८ बजे प्रकाशित हुनेछ। नामावलीमा दाबी–विरोध गर्न बिहान ८:३० देखि ९ बजेसम्मको समय तोकिएको छ।
उम्मेदवारका लागि दरखास्त दर्ता बिहान १० देखि ११ बजेसम्म हुने छ भने प्रारम्भिक नामावली ११:३० बजे सार्वजनिक गरिनेछ। उम्मेदवारी फिर्ताको समय दिउँसो १२ बजेसम्म तोकिएको छ।
अन्तिम उम्मेदवारको नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ र मतदान आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ। मतदान कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा हुनेछ।
मतदानका लागि प्रदेशसभा सचिवालयबाट जारी गरिएको परिचय पत्र अनिवार्य गरिएको छ । मतदानपछि तत्कालै मतगणना सुरु हुने र सोही दिन नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी दिएको छ।
मंगलबार गठन गरिएको समितिमा संयोजक श्रेष्ठसहित ऋषिराम घिमिरे र जीवन ढुङ्गेल सदस्य छन्।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया