भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार भैरहवामा संसदीय दलको बैठक आयोजना गरेको छ। दिउँसो १ बजे भैरहवास्थित रमादा होटलमा सुरु भएको बैठकमा संसदको चालु बर्खे अधिवेशनको समीक्षा, कुलिङ अफ पिरियड, संवैधानिक निकायहरूको कामकारबाहीलगायत विषयमा गम्भीर छलफल भइरहेको पार्टी उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिएका छन्।

पार्टी सभापति रवि लामिछानेविरुद्ध मुद्धा चलिरहेका बेला रूपन्देही–३ मा घोषणा गरिएको उपचुनावलाई लक्षित गर्दै रास्वपाले यस क्षेत्रलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि तीव्र पारेको छ। अहिले रास्वपाका सांसद तथा शीर्ष नेताहरू रूपन्देही–३ मा मतदाता भेटघाट, हस्ताक्षर अभियान र न्यायका पक्षमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन्।

advertisement

संसदीय दलको बैठक पनि त्यही अभियानको निरन्तरता भएको रास्वपाले जनाएको छ। उपनेता श्रेष्ठका अनुसार, संसदको कार्यसम्पादन मूल्याङ्कन गर्नुका साथै दलको आगामी रणनीति तय गर्न भैरहवाको बैठक महत्वपूर्ण रहनेछ।

यसबीच, मंगलबार कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) ले भैरहवा कारागारमा रहेका सभापति लामिछानेसँग भेटघाट गरी परामर्श लिएका थिए। रास्वपाका अनुसार, सभापति लामिछानेसँगको प्रत्यक्ष संवादले पार्टीको आगामी निर्णय र रणनीतिलाई थप स्पष्टता दिने विश्वास गरिएको छ।

रूपन्देही–३ को उपनिर्वाचनलाई विशेष प्राथमिकता दिँदै रास्वपाले न्यायका लागि हस्ताक्षर संकलनदेखि मतदातासँगको प्रत्यक्ष सम्पर्कसम्मका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। पार्टीका अनुसार भैरहवामा बसेको संसदीय दलको बैठक पनि चुनावी अभियानकै हिस्सा हो।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com