रसुवा । रसुवा जिल्लामा लगातारको वर्षा र भोटेकोसी नदीमा आएको बाढीका कारण उच्च जोखिमको सम्भावना देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
जिल्ला प्रशासनले आइतबार जारी गरेको ‘विपद् सूचना’मा असार १३ गते राति २ बजेदेखि नेपाल प्रवेश गर्ने भोटेकोसी नदीको जलप्रवाह उच्च भएर हिमालयबाट आएको बाढीका कारण जनधनको क्षति हुन सक्ने सम्भावना औंल्याइएको छ। बाढीका कारण नदी आसपासका बस्ती, पुल र सडकमा क्षति पुग्न सक्ने भएकाले सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको हो।
सूचनामा त्रिशूली नदी, भोटेकोसी नदी, टाईबेट खोल्सा, सिल्ली खोल्सा र यस्तै अन्य नदी तथा खोल्साहरुमा समेत बाढीको जोखिम रहेकाले नदी किनारमा बसोबास गर्ने स्थानीयवासी, यात्री, पर्यटक र निर्माण कार्यमा संलग्न श्रमिकहरुलाई आवश्यक सतर्कता अपनाउन भनिएको छ।
प्रशासनले सम्भावित विपद् व्यवस्थापनका लागि सबै सम्बन्धित निकाय, सुरक्षासंस्था र संचारमाध्यमलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ। साथै सडक यातायात सञ्चालन तथा आवागमन गर्दा सावधानीपूर्वक अघि बढ्न सबैलाई आग्रह गरिएको छ।
सूचना सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ध्रुव प्रसाद अधिकारीले जारी गरेका हुन्।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया