काठमाडौँ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज बुधवार २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ । केन्द्रीय बैंकले ४२ दिन अवधिको लागि बोलकबोल प्रक्रियामार्फत यो रकम तान्न लागेको हो।
राष्ट्र बैंकले जारी गरेको सूचनाका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र बोलकबोल प्रक्रियामा भाग लिन पाउनेछन्। निक्षेपको सावाँ तथा ब्याजको भुक्तानी २०८२ भदौ २५ गते तोकिएको छ।
बोलकबोलमार्फत संकलन हुने निक्षेपको न्यूनतम बोल रकम १० करोड रुपैयाँ रहनेछ भने अधिकतम सीमा ५ करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म सीमित हुनेछ। बोलकबोलमा सहभागी संस्थाहरूले प्रस्ताव गरेको ब्याजदरको आधारमा निक्षेप वितरण गरिनेछ, जसमा कम ब्याजदर बोल गर्ने संस्थालाई प्राथमिकता दिइनेछ।
राष्ट्र बैंकले यो कदम खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार उठाएको हो। दीर्घकालीन प्रकृतिको तरलता व्यवस्थापन गर्न बैंकले ६ महिनासम्मको अवधिका लागि संरचनात्मक खुला बजार उपकरण प्रयोग गर्न सक्छ। यसै प्रावधान अन्तर्गत पटकपटक निक्षेप संकलन गर्दै आएको हो।
हाल कुल निक्षेप ७२ खर्ब नाघिसकेको छ। तर, मौद्रिक नीति लचिलो बनाइए पनि सरकारको वित्तीय नीति प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा लगानीमा अपेक्षित वृद्धि हुन सकेको छैन। यसै कारण वित्तीय प्रणालीमा तरलता थुप्रिएको र त्यसको व्यवस्थापन गर्न राष्ट्र बैंक निक्षेप खिच्न बाध्य भएको अधिकारीहरूको भनाइ छ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार












प्रतिक्रिया