काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी भदौ १ गतेदेखि सार्वजनिक स्थलमा धूमपान निषेध गर्ने निर्णयअनुसार साउन महिनाभरि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ।
बुधवार माइतीघर मण्डलामा प्लेकार्डसहित महानगरका कर्मचारीहरूले धूमपानविरुद्ध सचेतना प्रदर्शन गरे। यस्तै खालका कार्यक्रमहरू काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिने महानगरले जनाएको छ।
महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक केसीका अनुसार, साउन महिनाभरि जनतालाई पर्याप्त जानकारी दिने उद्देश्यले सचेतना कार्यक्रम भइरहेका छन्। “सर्वसाधारणमा पूर्ण जानकारी पुर्याएर मात्र भदौ १ देखि सार्वजनिक स्थलमा धूमपान निषेध लागू गरिनेछ,” केसीले भने।
महानगरले एक साता अघि सार्वजनिक रूपमा धूमपान निषेध सम्बन्धी निर्णय सार्वजनिक गरेको थियो। नियमअनुसार, भदौ १ गतेदेखि सार्वजनिक स्थलमा धूमपान गरे पाँच सय रुपैयाँ जरिवाना गरिनेछ।
यसअघि महानगरले गत वर्ष पनि यस्तो कार्यक्रम सुरु गरेको थियो, तर अदालतमा मुद्दा परेपछि अभियान रोकिएको थियो। यसपटक महानगरले धूमपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन, २०६४ को दफा ४ अन्तर्गत स्थानीय तहको अधिकार प्रयोग गर्दै अभियान अघि बढाएको हो।
महानगरले यो अभियानबाट सार्वजनिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया