काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र बढ्दो असमझदारी र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज पार्टी पदाधिकारी बैठक आह्वान गरेका छन्। बैठक आज साँझ ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
प्रचण्ड सचिवालयका अनुसार बैठकमा १६ साउनदेखि सुरु हुने स्थायी कमिटी बैठकका तयारी, एजेन्डा तय र पार्टीले हालै सञ्चालन गरेका दुई अभियानको समीक्षा हुनेछ। स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठक बस्ने माओवादीको तयारी छ।
पार्टीभित्र पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी पुनः चर्किएको पृष्ठभूमिमा बैठक बोलाइएको हो। उपमहासचिव शर्माले ‘पार्टी माथिबाटै फुट्ने संकेत गरिएको’ भन्दै विशेष महाधिवेशनको प्रस्ताव अगाडि सारेका छन्।
पार्टी प्रवक्ता राम कार्कीका अनुसार, आजको बैठकमा नेताहरूबीच देखिएको विचार भिन्नता, विशेष महाधिवेशनको सम्भावना र सांगठनिक रणनीतिबारे विस्तृत छलफल हुनेछ।
माओवादी केन्द्रमा देखिएको आन्तरिक किचलोले नेतृत्व तहमा फेरि तनाव चुलिएको छ भने आजको बैठक पार्टीको आगामी बाटो निर्धारण गर्ने निर्णायक बन्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार












प्रतिक्रिया