पोखरा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले वर्तमान सत्ता गठबन्धनले मुलुकमा राजनीतिक स्थायित्व स्थापना गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि सुधार गर्न महत्वपूर्ण योगदान दिएको बताएकी छन्।

पोखरामा आयोजित एक समारोहमा बोल्दै मन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धनले देशलाई स्थायित्व दिएको दाबी गरिन्।

advertisement

“श्रद्धेय नेताहरू शेरबहादुर देउवा र केपी शर्मा ओलीको नेतृत्वमा बनेको यो गठबन्धनले मुलुकमा स्थायित्व कायम गरेको छ,” उनले भनिन्, “यसको प्रत्यक्ष प्रभाव स्वरूप पछिल्ला छ महिनामा आर्थिक सूचकहरू सकारात्मक देखिएका छन् र अन्तर्राष्ट्रिय समुदायमा नेपालप्रति विश्वास बढेको छ।”

उनले राजनीतिक स्थायित्वलाई समृद्धि र विकासको पूर्वशर्त बताउँदै हालको सरकार स्पष्ट नीति र दीर्घकालीन दृष्टिकोणसहित अघि बढिरहेको बताइन्।

जलवायु परिवर्तनका विषयमा बोल्दै उनले नेपालको हिमाली क्षेत्र गम्भीर जोखिममा परेको उल्लेख गरिन्। पोखरास्थित बगैँचा होटल उद्घाटन समारोहमा बोल्दै मन्त्री देउवाले हालैको अनुभव साझा गर्दै भनिन्, “पछिल्लो पटक माछापुच्छ्रे हिमाल हिउँविनाको खैरो रूपमै देखेँ, जुन दृश्य मैले आफ्नो जीवनमा पहिलो पटक देखेकी हुँ। अब त यस्तो लाग्न थालेको छ, आउने पुस्ताले सेताम्य हिमाल नै देख्न नपाउने हुन् कि भनेर चिन्ता लागेको छ।”

उनले जलवायु संकटका कारण नेपालमा बाढी, खडेरी र अतिवृष्टिको जोखिम तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै भनिन्, “यो समस्या केवल हाम्रो कारणले आएको होइन, तर यसको सबैभन्दा ठूलो असर हामीजस्ता साना मुलुकले बेहोर्नुपरेको छ।”

उनको धारणा अनुसार, नेपालले वातावरणीय चुनौतीहरूसँग जुध्न अब थप सजग र सक्रिय कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com