काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीले मागेको स्पष्टीकरण पत्रको जवाफ नदिएपछि अनुशासन समितिले उनीविरुद्ध कारबाही सिफारिस गरेको छ।
पार्टीको बहुमतसहितको केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन दिएको थियो। तर तोकिएको समयसम्म पनि उनले कुनै प्रतिक्रिया नदिएपछि अनुशासन समितिले आवश्यक कारबाही गर्न सिफारिस गरेको नाउपाका एक नेताले जानकारी दिए।
“अनुशासन विभागले रञ्जिता श्रेष्ठमाथि अनुशासन उल्लंघनको कारबाही गर्नुपर्ने सिफारिस गरेको छ,” ती नेताले भने, “अब उक्त सिफारिसबारे राष्ट्रिय भेलामा विस्तृत छलफल हुनेछ।”
श्रेष्ठमाथि के कस्तो कारबाही हुनसक्छ भन्नेबारे भने ती नेताले खुलाउन चाहेनन्।
नाउपाका नेता तथा राष्ट्रिय भेलाका संयोजक रामलाल डगौराले अध्यक्ष श्रेष्ठसम्बन्धी विषयमा आजको भेलाले निर्णय लिने जानकारी दिए। अनुशासन समितिबाट आएको सिफारिसका आधारमा छलफल गरेर आवश्यक निर्णय गरिनेछ।
यसअघि पार्टीका बहुमत केन्द्रीय सदस्यहरूले लिखितरूपमा केन्द्रीय समिति बैठक बोलाउन अध्यक्ष श्रेष्ठलाई आग्रह गरेका थिए। तर उनले सो बैठक नबोलाई कास्कीका वरिष्ठ नेता शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोक्दै आफ्नो सम्पूर्ण अधिकार सुम्पेकी थिइन्।
यसको प्रतिक्रिया स्वरूप सोमबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठसँग स्पष्टिकरण मागेको थियो। तर जवाफ नआएपछि अहिले उनीमाथि अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाइएको हो।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार












प्रतिक्रिया