काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनताको अपेक्षा अनुरूप काम गर्न नसकेको आरोप लगाएका छन्। विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकार सफल वा असफल भन्ने निष्कर्षमा पुग्न बाँकी भए पनि हालसम्मको कार्यशैली सन्तोषजनक नभएको बताए।
उनका अनुसार सत्ता साझेदारबीच भएको सात बुँदे सहमति कार्यान्वयनमा ल्याउन सरकारले पूर्णरूपमा असफल भएको छ। “हामीसँग भएका सात बुँदामध्ये एक बुँदासमेत लागू भएन,” कोइरालाले भने, “सरकार सफल छ भन्ने प्रमाण जनतालाई दिन सक्नुपर्छ, नभए सरकार सफल मानिँदैन।”
संविधान र लोकतन्त्रप्रति गम्भीर चुनौती देखिएको भन्दै उनले हालै पारित संवैधानिक परिषद् सम्बन्धी विधेयकलाई ‘खतरनाक’ करार दिए। उक्त विधेयकले दुई वा तीन जनामात्रबाट निर्णय लिन मिल्ने प्रावधान राखेकोप्रति उनले आपत्ति जनाए।
“संविधान शक्ति पृथकीकरणको सिद्धान्तमा आधारित भएर बनेको हो,” उनले भने, “तर राष्ट्रिय सभाले पारित गरेको विधेयकले संविधानको मूल भावना समाप्त पार्ने प्रयास गरेको छ, जुन प्रजातन्त्रका लागि गम्भीर खतरा हो।”
डा. कोइरालाले संविधान संशोधन वा पुनरावलोकनको आवश्यकतालाई लिएर पहिल्यै कांग्रेस केन्द्रीय समितिले कमिटी गठन गर्ने निर्णय गरे पनि अझैसम्म त्यो कार्यान्वयन नभएकोप्रति असन्तोष व्यक्त गरे।
पार्टीको संसदीय दलको नेतृत्व परिवर्तनसम्बन्धी चर्चाबारे पनि बोल्दै उनले आवश्यक समर्थन संख्या नपुगेको कारण अहिले नेतृत्व फेर्ने विषयमा हतार नगर्नुपर्ने धारणा राखे। “संसदीय व्यवस्था संख्याको खेल हो, त्यसैले बहुमत नपुगी निर्णय सम्भव छैन,” उनले स्पष्ट पारे।
पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिहरूको राजनीतिमा पुनरागमनबारे सोधिएको प्रश्नमा डा. कोइरालाले संविधानले त्यसमा कुनै रोकटोक नराखेको बताए। “पूर्वराष्ट्रपतिलाई राजनीति गर्ने अधिकार छ,” उनले भने, “तर मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने, राजनीतिमा फर्किनु उपयुक्त नहुन सक्छ।”
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार












प्रतिक्रिया