विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिहरू सक्रिय राजनीतिमा नफर्कनु नै उपयुक्त हुने धारणा राखेका छन्।
बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधानले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा संलग्न हुन निषेध नगरे पनि उनीहरू निष्क्रिय रहनु नै देशको हितमा हुने बताए।
“संविधानले पूर्वराष्ट्रपति वा उपराष्ट्रपतिलाई राजनीतिमा फर्कन रोक्दैन, जे पनि गर्न पाउँछ भन्ने प्रावधान छ,” कोइरालाले भने, “तर व्यक्तिगत रूपमा मेरो धारणा के हो भने, उनीहरू राजनीतिमा नफर्किएको राम्रो हुन्छ। तर फर्कन चाहन्छन् भने कसले रोक्न सक्छ र?”
हालै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) को राजनीतिक निकटताबारे उठेका चर्चाका सन्दर्भमा बोल्दै कोइरालाले आफूले भण्डारीसँग पहिले पनि भेटघाट गर्ने गरेको बताउँदै हालैको भेटलाई अनावश्यक रूपमा तानातान नगर्न आग्रह गरे।
पूर्वराष्ट्रपति भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहेका बेला हालै सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले उनलाई औपचारिक रूपमा राजनीतिमा नल्याउने निर्णय गरिसकेको छ।
त्यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन भने नेकपा (माओवादी केन्द्र) को सक्रिय राजनीतिमा फर्किएका छन्। माओवादी केन्द्रले पुनलाई पार्टीको उपाध्यक्षमा मनोनीत गरिसकेको छ।
नेता कोइरालाले वर्तमान सरकार प्रभावकारी रूपमा काम गर्न असफल भएको टिप्पणी गर्दै संविधान संशोधनलगायतका सात बुँदे सहमति कार्यान्वयनमा सरकार गम्भीर नदेखिएको आरोप पनि लगाए।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया