काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने कुनै प्रयासमा आफू नलागेको स्पष्ट पारेका छन्।
बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले देशको समस्या समाधानका सन्दर्भमा अन्य दलका नेतासँग भेटघाट भएको भए पनि सरकार परिवर्तनसम्बन्धी कुनै छलफल नभएको बताएका हुन्।
“सरकार परिवर्तन गर्न संसद्मा आवश्यक संख्याको समर्थन छैन,” उनले भने, “सरकार जनअपेक्षा अनुसार काम गर्न नसके पनि विकल्पको सम्भावना नरहेको अवस्थामा यही गठबन्धनले आगामी निर्वाचनसम्म सरकार चलाउने देखिन्छ।”
पूर्वराष्ट्रपति तथा उपराष्ट्रपति राजनीतिमा फर्कन नहुने आफ्नो धारणा दोहोर्याउँदै कोइरालाले संविधानमा स्पष्ट व्यवस्था नभएकाले संशोधन आवश्यक रहेको तर्क राखे। यद्यपि संविधान संशोधनलाई सरकारको प्राथमिकतामा राखिएको भए पनि अझै कार्यदल गठन नभएकोमा उनले असन्तुष्टि व्यक्त गरे।
निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ अनिवार्य गर्नुपर्ने धारणा राख्दै उनले यस विषयमा शीर्ष नेताहरूले हस्तक्षेप गरिरहेको आरोपसमेत लगाए।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार












प्रतिक्रिया