विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान सत्ता गठबन्धनको आयु विसं २०८४ सम्म रहने दाबी गरेका छन्।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै डा. कोइरालाले गठबन्धन सरकारलाई दीर्घकालीन रूपमा टिकाइराख्न जनताले अनुभूत गर्नसक्ने गरी भ्रष्टाचार नियन्त्रण र सुशासन सुनिश्चित गर्नुपर्ने सुझाव दिए।
“सरकारले जनताका आकांक्षा अनुसार काम गर्नुपर्छ,” उनले भने, “भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाफदेहितामा स्पष्ट प्रगति देखिनुपर्छ।”
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भएको आफ्नो भेटवार्ता बारे प्रष्ट पार्दै उनले राजनीतिमा यस्तो भेटघाट सामान्य प्रक्रिया भएको उल्लेख गरे।
“राजनीति गर्ने व्यक्तिमा नैतिकता आवश्यक हुन्छ, त्यो नभए राजनीति गलत दिशामा जान सक्छ,” उनले जोड दिए।
पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिहरूको राजनीतिमा पुनः सक्रियता विषयमा बोल्दै डा. कोइरालाले संविधानले त्यसमा रोक नलगाएको स्पष्ट गरे। तर, व्यक्तिगत रूपमा उनीहरू राजनीतिबाट टाढा रहनु उपयुक्त हुने उनको धारणा रहेको बताए।
गठबन्धन निर्माणका क्रममा गरिएको सात बुँदे सहमति कार्यान्वयनको आवश्यकता पनि उनले दोहोर्याए।
साथै, कांग्रेस संसदीय दलको नेतृत्व परिवर्तनबारे उठेका अड्कलबाजीलाई खारेज गर्दै उनले हाल त्यसको कुनै सम्भावना नरहेको बताए।
एक फरक प्रसङ्गमा उनले नेपाली कांग्रेसको आगामी महाधिवेशन तोकिएअनुसार विसं २०८२ मै हुने स्पष्ट पारे।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार












प्रतिक्रिया