काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित १६ जना वर्तमान तथा पूर्व उच्चपदस्थ व्यक्तिहरूविरुद्ध मानव तस्करीको आरोपमा उजुरी दर्ता गराइएको छ।
सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले जिल्ला प्रहरी परिसर, काठमाडौंमा हुलाकमार्फत उजुरी पठाउँदै प्रधानमन्त्री ओलीसहित विभिन्न पदाधिकारीहरूले आफ्नो कार्यकालमा अधिकारको दुरुपयोग गर्दै मानव तस्करीमा संलग्न भएको दाबी गरेका हुन्।
पौडेलले प्रधानमन्त्रीसँगै हालका गृहमन्त्री रमेश लेखक, उपसभामुख इन्दिरा राना, पूर्वगृहमन्त्रीहरू बामदेव गौतम, कृष्ण सिटौला, भीम रावल, विजयकुमार गच्छदार, शक्तिबहादुर बस्नेत, विमलेन्द्र निधी, बालकृष्ण खाँण, रवि लामिछाने, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ र पूर्व श्रममन्त्री डोलप्रसाद अर्यालमाथि अनुसन्धानको माग गरेका छन्।
उनले सम्बद्ध सबै व्यक्तिहरूलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्न प्रहरीसँग आग्रह गरेका छन्।
यसअघि पनि पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यिनै व्यक्तिहरूविरुद्ध कारबाहीको माग गर्दै उजुरी दर्ता गराइसकेका छन्।
यस विषयमा प्रतिक्रिया दिँदै काठमाडौं प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीले उजुरी प्राप्त भए पनि कानुनी प्रक्रियाअनुसार सो उजुरीलाई औपचारिक रूपमा दर्ता गर्न नमिल्ने बताए।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार












प्रतिक्रिया