काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रण गर्ने सरकारको रूपमा चिनिनुपर्ने दाबी गरेका छन् ।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारविरुद्ध कारबाही थालेकै कारण सरकारलाई नै दोषी देखाउने प्रवृत्तिप्रति आपत्ति जनाए ।

advertisement

“सरकारले एक-दुई जनालाई कारबाही गर्‍यो भने सरकार र भ्रष्टाचार पर्यायवाची भएजस्तो भन्ने गरिएको छ,” प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार गर्नेहरूलाई कारबाही नगर्ने त? कसैले भ्रष्टाचार गर्‍यो भने कारबाही हुन्छ, सरकार त्यसैका लागि हो।”

उनको भनाइमा भ्रष्टाचार नियन्त्रण गर्ने कदमलाई नै आलोचना गर्ने प्रवृत्ति गलत हो र यस्तो धारणा स्थापित गर्नु अनुचित छ। “सरकार भ्रष्टाचारको पर्याय होइन, नियन्त्रणको पर्याय हो,” उनले प्रस्ट पारे ।

यसअघि शून्य समयमा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले मुलुकमा बढ्दो भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै सरकार नै भ्रष्टाचारको मुख्य कारकजस्तो भएको आरोप लगाएका थिए।

प्रधानमन्त्री ओलीले त्यस टिप्पणीको प्रतिवाद गर्दै गम्भीर विषयमा गम्भीर ढंगले बहस हुनुपर्नेमा जोड दिए। “गम्भीर विषयमा गम्भीरता पूर्वक छलफल गरौं,” उनले भने।

प्रधानमन्त्री ओलीले विकास र आर्थिक वृद्धिका सवालमा दलहरूबीच साझा समझदारी र सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com