काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा रहेको सरकार भ्रष्टाचारको होइन, भ्रष्टाचार नियन्त्रणको पर्याय भएको दाबी गरेका छन्।
बुधबार राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध अनावश्यक आरोप लगाउने प्रवृत्तिप्रति आपत्ति जनाउँदै भ्रष्टाचारविरोधी अभियानलाई कमजोर पार्ने प्रयास भइरहेको बताए।
“सरकारले जब भ्रष्टाचारविरुद्ध कडाइका साथ कारबाही अघि बढाउँछ, त्यही बेला उल्टै सरकारलाई नै दोषी ठहर गर्न खोज्ने प्रवृत्ति देखिएको छ,” उनले आक्रोशपूर्वक भने, “एक-दुई जनामाथि कारबाही भयो भने भन्छन् — देख्यौ, भ्रष्टाचार त भएको रहेछ! तर नगरेको भए त्यो लुकेर बस्ने थिएन र?”
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न कारबाही गर्नु अपरिहार्य भएको उल्लेख गर्दै व्यङ्ग्यात्मक लहजामा प्रश्न गरे, “अब कारबाही नगरेकै राम्रो त हो? त्यसो गरेपछि त भ्रष्टाचार देखिन्न!”
उनले थपे, “भ्रष्टाचार देखिएको हो भने, त्यो कारबाहीकै कारण हो। त्यसैले दोष देखाउने होइन, कारबाहीको स्वागत गर्नुपर्छ।”
प्रधानमन्त्री ओलीले सरकारको स्पष्ट नीति भ्रष्टाचार नस्वीकार्ने र नछोड्ने हो भन्ने कुरा पुनः दोहोर्याउँदै भने, “सरकार आफैंले भ्रष्टाचार गर्दैन, अरूलाई पनि गर्न दिँदैन। कोही दोषी ठहरिए भने कारबाही निश्चित छ। यही हो भ्रष्टाचार नियन्त्रणको सार।”
अन्त्यमा, उनले सरकारलाई भ्रष्टाचारको प्रतीक भन्नु सरासर भ्रम फैलाउने प्रयास भएको भन्दै भने, “यो सरकार भ्रष्टाचारको होइन, भ्रष्टाचार अन्त्य गर्ने दृढ इच्छाशक्तिको पर्याय हो।”
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया