काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूलाई चुनावको समयमा मात्र प्रतिस्पर्धा गर्न र अन्य समय देशको विकासका लागि साझा सहकार्य गर्न आह्वान गरेका छन्।
बुधबार राष्ट्रिय सभामा ‘नेपाल अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति’ विषयक अध्ययन प्रतिवेदनमाथिको छलफलको जवाफ दिदै प्रधानमन्त्री ओलीले भने, “प्रतिस्पर्धा चुनावमा गरौ, अघिपछि विकासका काममा मिलेर लागौ।”
उनले मुलुकको चौतर्फी विकासका लागि सबै दल एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखे। “सिङ्गो देश एकजुट भएर अघि बढ्न सक्छ। मुख्य कुरा विकासका मामिलामा सहकार्य हुनुपर्छ,” प्रधानमन्त्री ओलीले स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले साझा प्रयासबाट आत्मनिर्भर अर्थतन्त्र निर्माण सम्भव हुने उल्लेख गरे। “पहिले आत्मविश्वास बढाएर उत्पादकत्व र उत्पादनमा वृद्धि गर्नुपर्छ। त्यसपछि मात्रै अर्थतन्त्र बलियो हुन्छ,” उनले भने।
सरकारका विकास प्रयासप्रति कतिपय व्यक्तिहरूले अविश्वास प्रकट गरिरहेको उल्लेख गर्दै उनले निजी क्षेत्रको धारणा बुझ्न आग्रह गरे। “पुरानै शैलीमा सरकारले केही गरेको छैन भन्ने भनाइबाट बाहिर निस्कनुपर्छ,” प्रधानमन्त्री ओलीले भने।
उनले सरकार तीव्र गतिमा चौतर्फी विकासका कार्यहरूमा क्रियाशील रहेको दाबी गर्दै राष्ट्रिय सभामा भएको बहसको पनि प्रशंसा गरे। उनले समय सीमा र विषय केन्द्रित छलफल भएकोमा सभासद्हरूलाई धन्यवाद दिए।
“आजको छलफलले राष्ट्रिय सभाको गरिमा कायम राखेको छ। तीन मिनेटको समयसीमाभित्र विषयवस्तु समेटेर प्रस्तुत हुनुभएको छ,” प्रधानमन्त्री ओलीले भने।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया