काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचार फैलाउने नभई नियन्त्रण गर्ने सरकार भएको स्पष्ट पारेका छन्।
बुधवार राष्ट्रिय सभामा ‘अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन–२०८१’ माथिको छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचारसम्बन्धी आरोपहरू प्रति आपत्ति जनाए।
उनले केही भ्रष्टाचारीमाथि कारबाही भएपछि त्यसलाई आधार बनाएर सरकारलाई नै भ्रष्टाचारको प्रतीकका रूपमा चित्रण गरिनु अनुचित भएको बताए।
“सरकारले एक–दुई जनालाई कारबाही गर्यो भने छ्यालब्याल भ्रष्टाचार भन्छन्। भ्रष्टाचार नियन्त्रण गर्ने काम गर्दा आलोचना हुन्छ भने नगर्ने तरु कसैले गल्ती गर्यो भने कारबाही हुन्छ, यो सरकारको कर्तव्य हो,” प्रधानमन्त्री ओलीले स्पष्ट गरे।
उनले सरकार भ्रष्टाचार नियन्त्रणको दिशामा स्पष्ट प्रतिबद्धतासहित अघि बढिरहेको र त्यसलाई कमजोर बनाउने गलत प्रवृत्तिहरूको भण्डाफोर गर्न जरुरी रहेको धारणा व्यक्त गरे।
“सरकार भ्रष्टाचारको पर्याय होइन, नियन्त्रणको पर्याय हो। गम्भीर विषयमा गम्भीरतापूर्वक छलफल गर्नु आवश्यक छ,” उनले जोड दिए।
प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्धको अभियानलाई सुदृढ बनाउँदै सुशासन कायम गर्न सरकार निरन्तर लागिरहेको समेत बताएका छन्।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया