काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको दोस्रो चरणको मनोनयन सूची सार्वजनिक गरेको छ।
महानगरको शिक्षा विभागका अनुसार दोस्रो चरणमा ५५४ जना विद्यार्थी छनोट भएका छन्। तीमध्ये विज्ञान संकायमा ४१४ जना, व्यवस्थापनमा १०६ जना, मानविकीमा एक जना, शिक्षामा तीन जना र कानुन संकायमा ३० जना रहेका छन्।
शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार पहिलो चरणको सूची साउन ६ गते प्रकाशित गरिएको थियो र भर्ना प्रक्रिया साउन ९ गतेसम्म पूरा गरिएको थियो। बाँकी रहेको सिटमा आवेदनको प्राथमिकता र कोटाका आधारमा दोस्रो सूची प्रकाशित गरिएको हो।
छनोट भएका विद्यार्थीहरूले साउन १५ गतेभित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना हुनुपर्ने व्यवस्था गरिएको छ। निर्धारित म्यादभित्र भर्ना नगरेमा छात्रवृत्तिमा दाबी गर्न नपाइने महानगरले स्पष्ट पारेको छ।
ज्ञवालीका अनुसार, छात्रवृत्तिमा मनोनयन नभएका तर परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरूलाई साउन १६ गतेपछि रिक्त सिटमा भर्नाको लागि अवसर दिइनेछ, र त्यससम्बन्धी सूचना सार्वजनिक गरिनेछ।
महानगरले जारी गरेको विज्ञप्तिअनुसार मनोनयन सूची विद्यार्थीको शैक्षिक योग्यताक्रम, आवेदनमा उल्लेखित कलेज प्राथमिकता, तथा आरक्षण कोटाका आधारमा तयार गरिएको हो। सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौं महानगरका स्थायी बासिन्दा तथा ल्याण्डफिल साइट क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरूलाई प्राथमिकता दिइएको छ।
आरक्षण कोटामा छात्रा, आदिवासी जनजाति, मधेसी, खस आर्य, दलित, मुस्लिम, थारु, अपांगता भएका व्यक्ति, पिछडिएको क्षेत्रका विद्यार्थी र सहिद तथा बेपत्ता द्वन्द्वपीडित परिवारका विद्यार्थी समावेश छन्।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया