काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठकका लागि प्रमुख एजेन्डाहरू तय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको अनौपचारिक पदाधिकारी बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक ब्रिफिङ, समाजवादी मोर्चा विस्तार, पार्टी एकता सुदृढीकरण, संगठन निर्माण तथा कार्यविभाजनबारे छलफल गर्ने निर्णय गरेको हो।
पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार यो बैठक स्थायी कमिटी बैठकको तयारीस्वरूप भएको अनौपचारिक छलफल थियो। “कम्युनिष्ट पार्टीको परम्पराअनुसार ठूलो कमिटीको बैठक अघि एजेन्डा तय गरिन्छ,” उनले सञ्चारकर्मीहरूसँग भने, “आजको बैठकले पर्सी बस्ने स्थायी कमिटी बैठकका लागि एजेन्डाहरू निश्चित गरेको हो।”
उनका अनुसार पार्टीले सञ्चालन गरेको विशेष अभियानको समीक्षा गरी त्यसलाई निरन्तरता दिने विषयमा छलफल हुनेछ। साथै, समाजवादी मोर्चालाई थप सक्रिय बनाउने र विस्तार गर्ने, संगठन निर्माण तथा नेताहरूको कार्यविभाजनबारे समेत स्थायी कमिटी बैठकमा निर्णय गरिनेछ।
बैठकमा केन्द्रीय समितिको बैठक मिति तोक्ने र हालैका प्राकृतिक विपत्तिसम्बन्धी घटनाक्रम जस्तै बाढी र पहिरो बारे आवश्यक प्रस्ताव पारित गर्ने विषय पनि समेटिएको सापकोटाले बताए।
नयाँ पार्टी गठनको हल्लाबारे उठेको प्रश्नमा उनले बैठकमा त्यसबारे कुनै छलफल नभएको स्पष्ट पारे। “आज संक्षिप्त रूपमा एजेन्डा मात्र तय भएको हो,” उनले भने, “विस्तृत छलफल स्थायी कमिटी बैठकमा हुनेछ। त्यसपछि मात्र पार्टी निर्णयबारे जानकारी दिन सकिन्छ।”
यसअघि उपमहासचिव जनार्दन शर्माले विशेष अधिवेशन माग गर्दै चार बुँदे प्रस्ताव अघि सारेका थिए। तर सो विषय पनि बुधबारको बैठकको एजेन्डामा नरहेको स्पष्ट गरिएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया