काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपाली कांग्रेसको संसदीय दलको नेताबाट पराजित भए पनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै संवैधानिक कारण नरहेको स्पष्ट पारेका छन्।
बुधवार इन्द्रबहादुर बानियाँसँग दलको नेताका लागि भएको प्रतिस्पर्धामा पराजित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री लामाले आफू संविधानको सीमाभित्र रहेर काम गरिरहेको बताएका हुन्।
“राजीनामा दिनुपर्ने कुनै आधार छैन। सरकार संविधानको धारा १६८(२) अनुसार बनेको हो। दलको नेता हुनु पर्ने अवस्था छैन,” उनले स्पष्ट पारे।
लामाले संविधानको उक्त प्रावधानअनुसार सरकार गठन भएको दुई वर्षभित्र अविश्वास प्रस्ताव दर्ता गर्न नसकिने व्यवस्था रहेकाले हाल सरकार नढल्ने दाबीसमेत गरे।
उनले प्रदेशमा सबैले स्थायित्व चाहेकाले आफ्नो नेतृत्वमा रहेको सरकार यथास्थितिमा कायम रहने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया