काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको पछिल्लो निर्णयप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्।
बुधबार पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन पुगेका चौधरीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले विधानविपरीत कार्यवाहक अध्यक्ष नियुक्त गरेको भन्दै त्यसप्रति आफू सन्तुष्ट नरहेको बताए।
उनले भने, “व्यक्तिगत रूपमा म यो निर्णयसँग खुसी छैन। धेरैजना कार्यकर्ताको पनि चित्त दुखेको छ। यो हाम्रो विधानको मर्यादा विपरीत हो।”
चौधरीले कुनै पनि नेतृत्व जिम्मेवारी दिनुअघि केन्द्रीय समिति बैठकमार्फत अनुमोदन गरिनु पर्ने औपचारिक प्रक्रिया बेवास्ता गरिएको आरोप लगाए।
जेलभित्रै रहँदा आफूले सुरु गरेको पार्टी अझै पनि गन्तव्यमा नपुगेको भन्दै उनले भावुक अभिव्यक्ति पनि दिए। “गन्तव्य कोबाट मिलेन भन्ने त लाग्छ, कतै आफ्नै मानिसबाट त बिग्रेको होइन भन्ने पीडा महसुस भयो,” उनले भने।
प्रजातान्त्रिक पद्धति महत्वपूर्ण भए पनि केही निर्णयमा कठोरता जरुरी हुने उनको धारणा थियो। “मेरो बच्चा राम्रो छ भन्दैमा अनुशासनविहीन हुन दिन सकिन्न। पार्टीमा अनुशासन अनिवार्य हुन्छ,” चौधरीको भनाइ थियो।
राजनीतिक प्रतिस्पर्धालाई उनले बाघ र मृगको संघर्षसँग तुलना गर्दै भने, “राजनीति भनेकै गद्दीको खेल हो। यो सेवासुविधाका लागि हो भन्ने लालसाले धेरैलाई आकर्षित गर्छ।”
उनले जनताले साथ दिए मात्र राजनीति गर्ने र साथ नदिए सत्ता सहजै हस्तान्तरण गर्न आफू तयार रहेको स्पष्ट पारे।
पार्टीभित्र नेतृत्वको विवाद र असन्तुष्टिबारे उनले राष्ट्रिय भेलाले गम्भीर छलफल गर्दै समाधान दिनुपर्नेमा जोड दिए। “आज कार्यकर्ताहरू प्रश्न गर्छन्— हाम्रो कार्यवाहक अध्यक्ष को हो? अध्यक्ष को हो? यसको स्पष्ट जवाफ दिन हामी विवश छौँ,” चौधरीले भने।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया