काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीभित्रको विवादले संस्थागत अनुशासन प्रभावित नहोस् भन्दै कडा सन्देश दिएका छन्।
पार्टीको राष्ट्रिय भेलामा सहभागी हुँदै चौधरीले पद र शक्तिको मोह स्वाभाविक भए पनि पार्टी अनुशासन र जनभावनाको उल्लंघन गर्न नदिने स्पष्ट पारे।
नेतृत्व विवाद र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको पछिल्ला निर्णयहरूप्रति संकेत गर्दै उनले भने, “राजनीति गद्दी हो, सेवा-सुविधाको आकर्षण त हुन्छ नै। तर ‘मेरो बच्चा राम्रो छ’ भन्दै उच्छृङ्खल बनाउनुहुँदैन। अनुशासनमा बस्नुपर्छ।”
जेलभित्रबाट सुरु गरिएको आन्दोलनबाट जन्मिएको पार्टीप्रति भावुक हुँदै चौधरीले पार्टीमा लोकतान्त्रिक अभ्यास आवश्यक भए पनि कतिपय परिस्थितिमा दृढ निर्णय लिने नेतृत्व चाहिने धारणा व्यक्त गरे।
“राजनीतिक दल जनताको मर्म र भावनाअनुसार चल्नुपर्छ। जनताले अस्वीकार गरेपछि त्यो राजनीति निष्प्रभावी हुन्छ,” चौधरीले भने।
अध्यक्ष रञ्जिता श्रेष्ठले विधानविपरीत कार्यवाहक अध्यक्ष तोक्नुको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले यो विषयमा गम्भीर छलफल आवश्यक रहेको औंल्याए।
चौधरीले आफू नेतृत्व वा पदको लोभमा नभई जनताको हितका लागि राजनीतिमा सक्रिय रहेको भन्दै आवश्यक परे नेतृत्व हस्तान्तरण गर्न पछि नपर्ने स्पष्ट पारे।
उनको भनाइ अनुसार पार्टीलाई सशक्त, अनुशासित र जनउत्तरदायी बनाउँदै लैजानु नै वर्तमान चुनौती हो।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार













प्रतिक्रिया